नैतिक शिक्षा हटाउँदा भ्रष्टाचार बढ्योः गुरुङ
हेटौंडा-नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले हेटौंडा आएर पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गएको दावी गरेका छन् ।
नैतिकवान मानिसहरुको कमी भएकोतर्फ संकेत गर्दै उनले नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर नथन्काइदिएको भए यति धेरै भ्रष्टाचार नहुने तर्क गरे । नैतिक शिक्षाको अभावले भ्रष्टाचार मौलाएको उनको भनाई थियो । नेता गुरुङले स्थानीय तहबाटै अध्ययन अध्यापनमा सुधार ल्याउन सकेमात्र देशको शैक्षिक सुधार हुने बताएका छन् । हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले पाठ्यक्रमबाट नैतिक शिक्षा दिनुपर्ने बताउँदै यहाँ नेताहरुमा नैतिकता हराइसकेको बताए । उनले मुलुकको सवल पक्षमा शिक्षकहरुको ठूलो भूमिका रहने बताएका छन् ।
उनले संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिवद्धता जनाउदै शिक्षकलाई गम्भीर भएर काम गर्न आग्रह समेत गरे । पुस्ता निर्माणमा शिक्षकहरुकै हात हुने भएकाले त्यसतर्फ पनि सचेत रहनु पर्ने उनले बताए । उपसभापति गुरुङले सामुदायीक विद्यालयहरुमा पनि राम्रो पढाई हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न शिक्षक संघका साथीहरुले दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए ।उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई अनुरोध गरे । हरेक पालिकाले अब एउटा नमुना विद्यालय बनाउनुपर्ने उनले सुझाब दिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सबैले आफनो काम अनुसारको जिम्मेवारी बोध नगर्ने हो भने अझैपनि देशलाई संकटबाट बाहिर ल्याउँन नसकिने दावी गरे । नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बाँनियाले शिक्षकहरुलाई आफूले बोकेको गहन जिम्मेवारीबाट पछि नहट्न र समाज परिवर्तनको अगुवाइलाई अझ प्रभावकारी र शसक्त बनाउँदै निरन्तरता दिन आग्रह गरेका छन् । अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने भएकाले गुटउपगुटबाट बाहिर निस्किएर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । आफू सधै शिक्षकहरुको साथमा रहेको उल्लेख गर्दै नेता बानियाँले सबै किसिमका सहयोगका लागि सदैव तत्पर रहेको प्रतिवद्धता समेत जनाएका छन् ।
नेपाल शिक्षक संघ बागमती प्रदेशका सभापति नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । शनिवार र आइतबार दुई दिनसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा प्रदेशका १३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।







