पाथिभरामा धार्मिक महोत्सव जारी
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१, स्थित भैरवडाँडामा रहेको पाथिभरा मन्दिरमा धार्मिक महोत्सव जारी छ । १ चैतदेखि सुरु महोत्सव १७ गते चैते दसैंको नवरात्रमा विषेश पूजाआजा गरी पाथिभरा महोत्सव समापन हुँदैछ । १२ दिनसम्मको महोत्सव भव्य रुपले सञ्चालन भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद देवकोटाले जानकारी दिए । धर्मसँगै पर्यटन भन्ने मुल नारका साथमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको देवकोटाले बताए । देशका चर्चित शक्तीपिठहरुमध्ये पाथिभरा भगवति माताको मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् ।
२०६७ सालमा ताप्लेजुङको पाथिभरा मन्दिरबाट लिई आएको १ थान सिला र १ थान त्रिसुलबाट पाथिभरा मन्दिरका मूल पीठाधीश गुरु देवीदासले स्थापना गरेका थिए । बढादसैं र चैते दसैंमा विशेष पूजासँगै भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसवर्ष चैत १५ गते परेको नवरात्रको अष्टमी तिथिमा विशेष पूजाको आयोजना हुने र विभिन्न झाँकीहरु पनि प्रस्तुत हुने मन्दिर व्यवस्थापन समितिका सचिव सालिकराम पुडासैनीले बताए । हेटौडा बजारको बुद्धचोकबाट करिब २ किलोमिटरको दुरीमा रहेको मन्दिर परिसरबाट हेटौडा बजारको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।







