सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित

साझाकुरा
२०८१ चैत्र १९, बुधबार ११:५३

हेटौंडा- सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच बजेटमाथिको विवाद कायमै रहेपछि मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साँझ ७ बजेतिर सूचना टाँसेर स्थगित भएको छ ।प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरुबीच सहमति हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो ।

४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो । मंगलबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठकपछिको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको हो । सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने अडान राख्दै प्रतिपक्ष दलहरुले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदै आएका थिए । मंगलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले विहान ८ बजे सर्वदलीय बैठक आव्हान गरेका थिए । दलहरुबीचको लामो छलफल पश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख पाठकले जानकारी दिए ।

सरकार र प्रतिपक्षबीच विगतमा भएका सहमति कार्यान्वयनका लागि प्रतिपक्षले जोड दिँदैआएको छ । केही समयअघि बागमतीका सहकारी मन्त्री मदुकुमार श्रेष्ठका स्वकीयको आत्महत्याको विषय छानबीनका लागि संसदीय छानबीन समिति गठन गरिनुपर्ने माग प्रतिपक्ष दल माओवादी केन्द्रको रहेको छ । प्रदेशसभा सभामुख पाठकका अनुसार दलहरुबीच विगतको बजेटमाथिको सहमतिका विषय समेट्ने सहमति बनेको र सोहीअनुसार बैठक आह्वान गरिएको हो ।

बैठकमा प्रदेश सभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको उनले बताए ।विधेयकका प्रतिवेदनहरु लाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूचि राखेर बैठक संचालन गरिने उनको भनाई छ । एकसय १० सदस्यीय बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ । जसमा एमाले २७, कांग्रेस ३७, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसदसहितको प्रतिनिधित्व रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*