मकवानपुरमा चैतमै लागूऔषध कारोबारी ३८ जना पक्राउ

साझाकुरा
२०८३ बैशाख ४, शुक्रबार १३:४८

हेटौंडा- मकवानपुर प्रहरीले चैत महिनामा अवैध लागूऔषधको कारोबारमा संलग्न ३८ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको चैत महिनाको प्रगतिविवरणअनुसार अवैध सामग्री ओसारपसारमा संलग्न ५ वटा सवारी साधन सहित ३८ जनालाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी उनीहरुको साथबाट १ सय ९१ किलो गाँजा, ४ सय ४५ मिलिग्राम हेरोइन, ३ किलो ४७८ ग्राम अफिम र ३४ पिस ट्रमाडोल बरामद गरिएको छ । अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत ४ हजार ५ सय लिटर तयारी घरेलुमदिरा र ७ हजार ५ सय लिटर कच्चापदार्थ बरामद गरी ७ जनालाई पक्राउ गरेका छन् ।

प्राकृतिक सम्पदा दोहनमा संलग्न २१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई १ लाख ७६ हजार रुपैयाँ जरिवाना गरेको छ । नागरिक सहायता कक्षका अनुसार महिनाभरीमा ६ हजार ३ सय ४४ जनाले कार्यालयबाट सेवा प्राप्त गरेका छन् । प्रहरीले बागमती गाउँपालिकाबाट एकथान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्को एक स्थानमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुकसमेत फेला पारेको छ । एक महिनाको अवधिमा जिल्लामा ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४ जनाको मृत्यु र १२१ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा परेका ८५ जनालाई प्रहरीले उद्दार गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६६९ जनालाई कारबाही गर्दा १५ लाख ५३ हजार रुपैयाँराजस्व संकलन भएको प्रहरी जनाएको छ । अवैधरुपमा भन्सार छली ल्याइएका ७ लाख ४५ हजार ७८६ रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ । चैतमा जिल्लामा ६ वटा आगलागीका घटना हुँदा १८ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । चैतमा ५ जना महिला र ५ जना पुरुष गरी कुल १० जनाले आत्महत्या गरेका छन् । यो अवधिमा जिल्ला प्रहरी कार्यालयमा परेका ११८ उजुरीमध्ये पुरानासहित १४३ वटा र जिल्ला प्रशासन कार्यालयबाट आएका १८ उजुरीमध्ये १५ वटा फछ्र्यौट भएको प्रहरीले जनाएको छ ।

प्रहरीको विवरणअनुसार चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठनागरिकतर्फ २६ वटा र घरेलुहिंसातर्फ २३ वटा उजुरी दर्ता भएका छन् । जिल्लामा अभद्र व्यवहारका २९ वटा, बैंकिङ कसुरका २० वटा र जबरजस्ती करणीका २ वटा घटना भएका छन् । प्रहरीले चालुमुद्दाका १२६ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने फैसला कार्यान्वयन भइसकेका मुद्दामा ३७ जना प्रतिवादीलाई पक्राउ गरी ७४ लाख ६ हजार ३ सय रुपैयाँ बिगो रकम असुल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*