कृषिउत्पादन प्रवद्र्धन गर्न आयातमा कडाई गर्नुपर्छ : कृषिमन्त्री पौडेल

साझाकुरा
२०८३ बैशाख ४, शुक्रबार १३:५७

हेटौंडा- बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको प्रवद्र्धन गर्न आयातमा कडाई गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय फलफूल विकास केन्द्रले आयोजना गरेको १६ औँ वागवानी कार्यशाला गोष्ठीमा उनले केन्द्रीय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयातमा कडाई गर्ने नीति लिनुपर्ने बताए । हाल कृषि तथा पुष्प व्यवसाय घट्दो अवस्थामा रहेको भन्दै मन्त्री पौडेलले यसलाई पुनर्जीवित गर्न विदेशी वस्तुको आयातमा नियन्त्रण आवश्यक रहेको बताए । उनले कृषिउपज, फलफूल तथा पुष्पजन्य वस्तु बाहिरबाट आउँदा नेपालका किसान समस्यामा परेको उल्लेख गरे । आयातमा कडाईको लागि प्रदेश सरकारले संघीय सरकारसँग लविङ गरिरहेको उनले जानकारी दिए ।

नेपाली किसानको संरक्षणका लागि सरकारले कडा नीति लिनुपर्ने उनको भनाई छ । उनले कृषि तथा पुष्पजन्य व्यवसाय प्रवद्र्धनको लागि तीनवटै तहका सरकारको समन्वय आवश्यक रहेको बताए । प्रदेश सरकारले मात्रै यसको प्रवद्र्धन गर्न नसक्ने उनको भनाई छ । तरपनि प्रदेशभित्र रहेको कृषि तथा पुष्प व्यवसायलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा दिएर बजेट विनियोजन गरेको जानकारी दिएका छन् । यसक्षेत्रमा अनुसन्धान विस्तार गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अझै प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनको भनाई छ ।

उनले रोजगारी सिर्जनाका लागि पुष्प तथा कृषिक्षेत्र महत्वपूर्ण रहेको बताए । युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थालाई अन्त्य गर्न आन्तरिक अवसरको पहिचान र विकास आवश्यक रहेको उनको भनाई छ । रोजगारीको नयाँक्षेत्र कृषि तथा पुष्प व्यवसाय हुने उनले बताए । ‘नेपालजस्तै जैविक विविधता भएको मुलुकमा हामीले संसारलाई वितरण गर्न सक्ने फूल व्यवसाय, अन्न व्यवसायको बीउको खानी हुनुपर्ने हो । संसारलाई पुग्ने बीउ हामीले वितरण गर्नसक्नु पर्ने हो, त्यति धेरै बहुआयामिक भएको विविधतायुक्त जलवायू हामीसँग छ । पुष्पको कुरा पनि त्यही हो । तर, हामीले यसलाई कम महत्व दिएका छौँ, अब यसमा ध्यान दिन जरुरी छ ।’

‘वागमती प्रदेश सरकारले पुष्प व्यवसायको अनुसन्धानको क्षेत्रलाई बढाउन बजेट राखेका छौँ, आगामी वर्षको बजेटमा हामीले यसलाई बढाउनेछौँ । यो क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्भवना हामीले अलि बढि देखेका छौँ’ मन्त्री पौडेलले भने, ‘रोजगारीको लागी हाम्रा युवा खाडीमा गएका छन् तर, हामीले हाम्रो देशभित्रै रोजगारी सिर्जना गर्ने अवसरको पहिचान राम्रोसँग गर्न सकिरहेका छैनौ । रोजगारीको अवसर पहिचान गर्ने महत्वपूर्ण क्षेत्र पुष्प व्यवसाय हो । हाम्रो देशको कृषि व्यवसा, पुष्प व्यवसाय पछिल्लो समय घट्दो अवस्थामा छ ।’

यो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि केन्द्र सरकारले नै विदेशबाट आउने वस्तु नियन्त्रण गर्न कडा नीति लिनुपर्ने बताउँदै ‘विश्व व्यापारका कुरा आउला तर, नेपाली किसानको रक्षाको लागि नेपाल सरकारले कडा नीति बनाउन आवश्यक छ’ उनले भने । मन्त्री पौडेलले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण देशले बीउ, अन्न र पुष्प उत्पादनमा आत्मनिर्भर भई निर्यात गर्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन् । तर, यसको पर्याप्त उपयोग हुन नसकेको उनको भनाई छ । संसारलाई पुग्ने बीउ उत्पादन गर्ने क्षमता भएपनि त्यसलाई प्राथमिकता दिन नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*