‘आन्तरिक लोकतन्त्र सामाजिक सञ्जालमा मात्र सीमित’
हेटौंडा- नेपाली कांग्रेसका नेता भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै सिद्धान्त र दृष्टिकोण नभएको टिप्पणी गरेका छन् ।फागुन ११ गते रास्वपा मकवानपुरको सभापति पद त्यागेर कांग्रेस प्रवेश गरेका पराजुलीले पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषणमा मात्र रास्वपा सीमित भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टीकार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता पराजुलीले सामाजिक सञ्जाल र भाषणमा रास्वपा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो नदेखिएको जिकिर गरे । पराजुलीकाअनुसार रास्वपामा आन्तरिक लोकतन्त्रको अभाव र बोल्नै नपाइने अवस्था रहेको छ । उनले केन्द्रीय नेतृत्वले जे गरे पनि स्वीकार्य हुने तर, तल्लोतहका नेता–कार्यकर्तालाई आफ्ना धारणा राख्नसमेत कठिनाइ हुने अवस्था रहेको बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि रास्वपा बढी निरङकुश रहेको उनको धारणा थियो ।
‘पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषण मात्रै रहेछ,’ पराजुलीले भने, ‘देश बनाउने ठोस योजना, कार्यविधि र दीर्घकालीन खाका देखिएन । रास्वपा सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो छैन । निर्णय प्रक्रियामा पारदर्शिता थिएन, जनमूल्यांकनको प्रणाली पनि गलत रहेछ ।’ कांग्रेसमा खुलेर बोल्ने संस्कारमा राजनीति गरेको मान्छे रास्वपामा गएपछि बोल्नै नपाइने अवस्थामा साढे तीनपर्ष बिताएको उनले बताए । रास्वपाको संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन नभएको र आन्तरिक बहस–संवादको संस्कार कमजोर रहेको निष्कर्षमा पुगेपछि उनले कांग्रेसमै फर्किने निर्णय लिएको बताए ।
आफ्नो राजनीतिक पृष्ठभूमि, पसिना र योगदान कांग्रेससँगै जोडिएको कारण फर्किन कुनै असजिलो नलागेको उनले स्पष्ट पारे । कांग्रेस पार्टी छोडेर रास्वपामा जाँदा गल्ती भएको स्वीकार गर्दै उनले कमजोरीसँग पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने भएपनि आफ्नो स्वभावका कारण त्यसरी बस्न नसकेको बताउँदै उनले भने, ‘कांग्रेसमा कमजोरी थिए तर, त्यो कमजोरीसँग भित्रै बसेर लड्नुपर्ने थियो । मेरो स्वभावले त्यो गर्न सकेन, रिसाएर बाहिरिएँ,’ अहिले पनि ती दिन सम्झेर पछुतो लागिरहेको छ ।’ नेता पराजुलीले वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सभापति गगन थापाको नेतृत्वमा युवाको क्षमतावान् टिम तयार भएको र पार्टी सुधारको दिशामा अघि बढिरहेको बताए ।
सुधारिएको कांग्रेसले देशको अभिभावकत्व निभाउने र देशलाई सही दिशा दिनसक्छ भन्ने पूर्ण विश्वास आपूmलाई लागेको उनले उल्लेख गरेका छन् । उनले भने, ‘सुध्रेको कांग्रेसले देशको अभिभावकत्व निभाउन सक्छ र देशलाई सही दिशा दिन सक्छ भन्ने पूर्ण विश्वासका साथ म पुनः कांग्रेसमा प्रवेश गरेको हुँ ।’ नेता पराजुलीले अब कांग्रेसमा विगतको जस्तो काम गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने प्रवृत्ति हुन नहुने बताए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजुली मकवानपुर–२ मा रास्वपाबाट उम्मेदवार बनेका थिए । प्रत्यक्षतर्फ पराजुलीले १२ हजार ५९ मत प्राप्त गरेका थिए ।
कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले पार्टीभित्र एउटालाई न्याय गर्दा अर्कोलाई अन्याय हुन पुगेको बताइन् । पार्टीभित्र सदस्यलाई मिलाएर लैजान नसकेको स्वीकार गर्दै उनले सुधारिएको कांग्रेसले अब त्यस्तो गल्ती नगर्ने दाबी गरिन् । पार्टीमा फर्केका सदस्यलाई न्याय दिन निम्ति आपूmले अभिभावकत्व ग्रहण गर्ने पनि उनले बताइन् । उपाध्यायले आफूले लामो समयदेखि मकवानपुर क्षेत्र नम्बर–१ का जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै जनताले आफ्नो कामको मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘म पदमा हुँदा होस् वा नहुँदा, जनताका लागि निरन्तर काम गर्दै आएको छु । विकास, समावेशिता र जनजीविकाका मुद्दामा मैले निरन्तर आवाज उठाएको छु । त्यसैले यसपटक जनताको साथ कांग्रेसलाई नै प्राप्त हुनेमा म विश्वस्त छु ।’
त्यस्तै, क्षेत्र नम्बर–२ का उम्मेदवार बुद्ध लामाले पनि आफूले पार्टी नेतृत्वमा रहँदा तथा व्यक्तिगत पहलमा जिल्लाको विकासका लागि गरेका कामका कारण मतदाताको विश्वास कांग्रेसप्रति अझ मजबुत बनेको बताए । उनले भने, ‘हामी चुनावका बेलामात्र देखिने नेताहोइनौं । जनताको बीचमै बसेर काम गरेका कारण जनताले यसपटक पनि हामीलाई नै रोज्नेछन् भन्नेमा ढुक्क छौं ।’ उनले कांग्रेसले अघि सारेका स्थायित्व, सुशासन र विकासका एजेण्डाले मतदातालाई आकर्षित गरिरहेको दाबी गरे । लामाका अनुसार मकवानपुरका दुबै क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेकाले परिणाम पनि सकारात्मक आउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल माइकलले लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने सबैलाई कांग्रेसमा स्थान रहेको उल्लेख गर्दै पार्टी अझ बलियो बन्दै गएको बताए । उनले भने, ‘देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक भविष्यका लागि कांग्रेस नै भरपर्दो शक्ति हो भन्ने बुझाइ समाजमा बढ्दै गएको छ । त्यसैले विभिन्न दलबाट नेता तथा कार्यकर्ताहरु कांग्रेसमा समाहित हुने क्रम बढेको हो ।’ कार्यक्रममा सहभागी नेताहरुले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा संयुक्तरुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कांग्रेस मकवानपुरले यसलाई संगठन सुदृढीकरणको महत्वपूर्ण कदमका रुपमा लिएको जनाएको छ । पत्रकार सम्मेलनमार्फत् कांग्रेसले मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा चुनावी माहोल पक्षमा बन्दै गएको संकेत गर्दै आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी पुनः दोहो¥याएको छ ।







