स्वास्थ्य शिविरमा ३४३ जनाले लिए सेवा

साझाकुरा
२०८२ चैत्र २, सोमबार ११:४६

हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा विशेष स्वास्थ्य शिविर उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ । स्वास्थ्यसेवा, मानव अधिकार र सामाजिक समावेशिताको सन्देश समुदायसम्म पु¥याउने उद्देश्यले आयोजित शिविरमा कुल ३४३ जनाले स्वास्थ्यसेवा लिएका आयोजकले जनाएको छ । शिविरमा पुनस्र्थापना केन्द्रमा उपचाररत सेवाग्राही, जोखिम समूहका व्यक्ति तथा स्थानीय समुदायका नागरिकले सक्रियरुपमा सहभागिता जनाएका थिए । कार्यक्रममा १७१ जनाको एचआईभी तथा हेपाटाइटिस ‘सी’ परीक्षण गरिएको थियो । परीक्षणको नतिजाअनुसार एचआइभी संक्रमणको कुनै पनि केस फेला नपरेको आयोजकले जानकारी दिएको छ भने ७ जनामा हेपाटाइटिस सी संक्रमण देखिएको बताइएको छ ।

संक्रमित देखिएका व्यक्तिलाई आवश्यक परामर्शसहित थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिएको छ । स्वास्थ्य शिविरमा अनुभवी चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । सेवाप्रवाह गर्ने टोलीमा डा. गरिमा मैनाली (स्त्रीरोग विशेषज्ञ), डा. विनयप्रताप सिंह (इन्टरनल मेडिसिन विशेषज्ञ) तथा डा. आदित्य यादवेन्द्र (मनोचिकित्सक) सहभागी रहेका थिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा हेल्थ असिस्टेन्टले पनि स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवामा सहयोग गरेका थिए । कार्यक्रमअन्तर्गत सामान्य स्वास्थ्यपरीक्षण, मानसिक स्वास्थ्य परामर्श, संक्रामक रोग स्क्रिनिङ, औषधिपरामर्श तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो ।

विशेषगरी लागुऔषध प्रयोगकर्ता तथा पुनस्र्थापनाको प्रक्रियामा रहेका व्यक्तिलाई स्वास्थ्य सेवा र सम्मानजनक व्यवहारको पहुँच उपलब्ध गराउने प्रयासलाई सहभागीले सकारात्मकरुपमा लिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस्तो पहलले समाजमा विद्यमान कलंक र विभेद न्यूनीकरण गर्दै स्वास्थ्य सेवामा समान पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । बहुसंस्थागत सहकार्य र समुदायको सक्रिय सहभागिताबाट यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र दिगोरुपमा अगाडि बढाउन सकिने धारणा पनि व्यक्त गरिएको छ ।

सिआन पुनस्र्थापना केन्द्रका सल्लाहकार महेश्वरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुखअतिथि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी रहेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक श्यामबहादुर खत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मा, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायत विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिको सहभागिता थियो ।

समापन समारोहमा राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंले स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक तथा मेडिकल टोलीलाई प्रमाणपत्र प्रदान गरेका थिए । स्वास्थ्य शिविरले मकवानपुरमा विभेदमुक्त, समावेशी र मानव अधिकारमैत्री स्वास्थ्य सेवाको अवधारणालाई सुदृढ बनाउनेप्रेरणादायी उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*