बुढीचौरमा सिताके च्याउको सपना ब्युँतिँदै

साझाकुरा
२०८३ बैशाख ३, बिहीबार १०:४८

हेटौंडा- उत्तिस, कटुस, ओखर र लाँकुरी जस्ता काठमा स्वास्थ्यवर्धक र महँगो सिताके च्याउ उत्पादन गर्न सकिन्छ भन्ने जानकारी भिडियोमार्फत् पाएपछि मकवानपुरगढी–८ का सोमलाल पाख्रिन र वीरबहादुर रुम्बा उत्साहित भए ।बजारमा आकर्षक मूल्य पाइरहेको यो च्याउखेतीमा उनीहरुले प्रचुर सम्भावना देखे । प्रकृतिको उपहार र आफ्नो मिहेनतलाई पूँजी बनाउने सपनाकासाथ सोमलाल र वीरबहादुरले युट्युबमा भिडियो हेरेर प्रविधिको प्रयोग गर्दै लगानी र परिश्रम गरे । समुद्री सतहदेखि २ हजार मिटरसम्मको उचाइमा अवस्थित बुढीचौरको भूगोल सिताके खेतीका लागि उपयुक्त छ । सिताके खेतीका लागि ११०० मिटरभन्दा माथिको उचाइ, ७०–८० प्रतिशत आद्र्रता र १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । तर, कहिलेकाहीँ जोस र अनुकूल भूगोल मात्र पर्याप्त हुँदैन ।

प्रविधिको ज्ञानअभाव हुँदा ठूलो लगानी कसरी बालुवामा पानी हुन्छ भन्ने उदाहरण उनीहरु आफैँ बने । ‘एउटा प्राविधिक कुरा हामीबाट छुट्यो । टनेलभित्र खेतीगर्दा तापक्रम व्यवस्थापन गर्न ‘एसी’ वा अन्य प्रणाली अनिवार्य थियो । सानो जानकारीको अभावले हाम्रो प्रयास विफल भयो र लगानी खेरगयो,’ कृषक सोमलालले विगतको अनुभव सुनाए । तथापि, तिनै विफल बनेको प्रयासलाई सफलतामा बदल्न अहिले मकवानपुरगढी गाउँपालिका आफैँ कृषकको घरदैलोमा पुगेको छ । प्रायः ‘कन्य’ (परालबाट उत्पादन गरिने) च्याउमा मात्रै केन्द्रित किसानलाई पालिकाले यसपटक सिताके च्याउको उच्च आर्थिक सम्भावना बुझाउँदै विशेष प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको कृषि शाखाले हालै बुढीचौरका कृषकका लागि विशेष तालिम सञ्चालन गरेको छ । वडा नम्बर ८ बुढीचौरका कृषकलाई च्याउखेतीको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको कृषि शाखाप्रमुख गोपाल लम्सालले जानकारी दिए । शाखाप्रमुख लम्साल भन्छन्, ‘हाम्रो पालिकामा अहिलेसम्म कन्यच्याउको मात्र बाहुल्यता छ । तर, सिताकेबाट कृषकले निकै राम्रो आम्दानी लिनसक्छन् । विगतका असफलता दोहोरिन नदिन हामीले यो तालिम सुरु गरेका हौँ ।’कृषकलाई सिताकेको ऐतिहासिक महत्व, उपयुक्त हावापानी र प्राविधिक पक्षबारे जानकारी दिइएको छ । मुढामा प्वाल पार्ने, बीउ (स्पोन) राख्ने र बाहिरी संक्रमण रोक्न मैन (वाक्स) लगाउने जस्ता व्यावहारिक सीप बुढीचौरका कृषकलाई सिकाइएको हो । यो खेतीका लागि ४ देखि २० वर्षउमेरका निरोगी रुखका मुडा उपयुक्त हुन्छन् । कात्तिकदेखि माघ महिनाभित्र काटिएका मुडालाई करिब २० देखि ३० दिन सुकाएपछि ड्रिल मेसिनले प्वाल पारी बीउ भरिन्छ । उचित हेरचाह गरेमा मुढाको तौलको १५ देखि १७ प्रतिशतसम्म च्याउ उत्पादन हुन्छ ।

गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले बुढीचौरमा गरिएको परीक्षण उत्पादन सफल भएमा इच्छुक कृषकलाई लागत सहभागिताका आधारमा सहयोग गरिने बताए । मकवानपुरगढी गाउँपालिकाको यो सक्रियताले सोमलाल र वीरबहादुर जस्ता कृषकको ओइलाएको सपना फेरि ब्युँताएको छ । बुढीचौरको चिसो हावापानीमा सिताकेको व्यावसायिक सुगन्ध कति फैलिन्छ, त्यो भने आगामी सिजनको उत्पादनले देखाउने छ । नेपालमा २०३० सालको दशकमा जापानी नागरिकले भित्राएको सिताके च्याउखेतीप्रति अहिले व्यावसायिक आकर्षण बढ्दो छ ।पूर्वी एसिया (विशेषगरी चीन, जापान र कोरिया) बाट सुरु भएको सिताकेलाई च्याउको राजा मानिन्छ । जापानी भाषामा ‘सी’ को अर्थ एक प्रकारको ओक (इबप) रुख र ‘ताके’ को अर्थ च्याउ हुन्छ । यो प्राकृतिकरुपमा ओकको सुकेका मुडामा उम्रिने भएकाले यसलाई सिताके भनिएको हो । स्वादका लागि मात्र नभई औषधीय गुणका कारण पनि यो लोकप्रिय छ । प्राचीन चिनियाँ चिकित्सामा यसलाई जीवनको अमृत मानिन्थ्यो । जसले शरीरको ऊर्जा बढाउने र बुढ्यौली रोक्ने विश्वास गरिन्छ ।

सिताकेमा प्रोटिन, भिटामिन बी, कपर, सेलेनियम जस्ता सूक्ष्म पोषकतत्वहरु भरपूर मात्रामा पाइन्छन् । क्यान्सर, मधुमेह, कोलेस्ट्रोल तथा उच्चरक्तचाप जस्ता रोगका लागि यो च्याउ फाइदाजनक मानिन्छ । कृषि प्राविधिक सुदीप सुवेदीका अनुसार सिताकेको बीउ राखेको ८ महिनापछि उत्पादन सुरु हुन्छ । उत्तिसको काठ प्रयोग गरेमा साढे ३ वर्ष र कटुसको काठमा ६ वर्षसम्म लगातार उत्पादन लिन सकिन्छ । बजारको हिसाबले सिताके च्याउ कृषकका लागि वरदान साबित हुन सक्छ । हाल नेपाली बजारमा ताजा सिताके प्रतिकेजी ६०० देखि १ हजार रुपैयाँसम्म बिक्री हुने कृषकहरु बताउँछन् । सुकाएर बेच्नसके यसको मूल्य प्रतिकेजी ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पुग्ने उनीहरुको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*