हेटौंडा स्कुल अफ म्यानेजमेन्टको शिक्षा संकाय अन्तर्गत निःशुल्क भर्ना कार्यक्रम निरन्तर : अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अगाडि बढाइने
हेटौंडा-हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि पनि कक्षा ११ मा शिक्षा संकायअन्तर्गत निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।शिक्षाक्षेत्रमा अग्रणी महाविद्यालयले सामाजिक उत्तरदायित्वको भावना र गुणस्तरीय शिक्षाको आवश्यकता महसुस गर्दै यसवर्ष पनि ३० जना विद्यार्थीलाई शिक्षा संकायमा शतप्रतिशत निःशुल्क अध्ययनको अवसर दिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत् नेपाली, अंग्रेजी र गणित विषयका लागि १०–१० जना गरी जम्मा ३० जना विद्यार्थी छनोट गरिनेछन् । आवेदन दिएका विद्यार्थीको अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अगाडि बढाइने प्रिन्सीपल पुरनबहादुर जोशीले बताएका छन् ।
गत शैक्षिक सत्र २०८२ मा पनि विद्यालयले ३० जना विद्यार्थीलाई निःशुल्क भर्ना लिएको थियो । म्यानेजमेन्टको शिक्षाशास्त्र संकायकी संयोजक रमिता दर्लामीले शिक्षाशास्त्रको पठनपाठन प्रभावकारी र लक्ष्यअनुसार नै भइरहेको जानकारी दिइन् । नवोदय शिशुसदनलाई ल्याव स्कूलको रुपमा प्रयोग गरेको निशुल्क पठनपाठन कार्यक्रमसँगै म्यानेजमेन्टले विद्यार्थीलाई नवोदयको शिक्षक तालिममा पनि सहभागी गराउने गरेको छ । जिल्लाबाहिर हुने शिक्षासम्बन्धी कार्यशाला गोष्ठी र सम्मेलनमा पनि विद्यार्थीको सहभागिता रहने गरेको दर्लामीले जानकारी दिइन् ।
गतवर्ष कक्षा–११ मा भर्ना भएर अध्ययनरत गरेका विद्यार्थीलाई आवश्यकताअनुसार भाषा, प्रस्तुती जस्ता क्षमता विकासका अन्य क्रियाकलाप गरिएको बताइएको छ ।म्यानेजमेन्टका योजना तथा विकास निर्देशक दिपेश जोशीले निशुल्क शिक्षा कार्यक्रमबाट सन्तुष्ट रहेको उल्लेख गर्दै गत वर्ष ११ कक्षामा भर्ना भएका विद्यार्थीले कक्षा–१२ को शिक्षा पूरा गरेपछि थप सुधार र नयाँ रणनीति बनाउने बताए । आजको समयअनुकूल नयाँ शैक्षिकशैलीको अभ्यास गर्न नयाँशैलीमै शिक्षक तयार गर्ने प्रयासस्वरुप निशुल्क शिक्षाको कार्यक्रम ल्याएको उनको भनाइ थियो ।
प्रथम ब्याचका विद्यार्थीले शिक्षण सीप, व्यवहारिक ज्ञान तथा व्यक्तित्व विकासमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् । गतवर्ष ११ कक्षामा भर्ना भई अध्ययनरत अक्शा कार्कीले पढाई सुरु गरेको ३ महिनामै पूर्वप्राथमिक तहको कक्षा सम्हाल्न सक्ने आत्मविश्वास र सीप आर्जन गरेको बताइन् । परम्परागत शैलीमा नभई विद्यार्थीबीचमै अभ्यास, खोज र समस्या समाधानको शैलीमा कक्षा सञ्चालन गर्न सक्षम भएको कार्कीको भनाइ थियो । नवोदय शिशुसदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा प्रशिक्षार्थीलाई कक्षाकोठामा प्रयोगात्मक सिकाइ, शिक्षण अभ्यास, कार्यशाला तथा विभिन्न शैक्षिक गतिविधिमार्फत् अनुभव प्रदान गरिनेछ ।
हप्तामा दुईदिन विशेषज्ञ शिक्षकमार्फत् मार्गदर्शन कक्षा सञ्चालन गरिनेछ । सो दिन विद्यार्थीका लागि निःशुल्क खानाको व्यवस्था कलेजले गर्दै आएको छ । यसका साथै उपस्थिति र सहभागिताका आधारमा प्रशिक्षार्थी विद्यार्थीलाई प्रतिमहिना एक हजार रुपैयाँ प्याकेज खर्च उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ । आवेदन दिएका विद्यार्थीको अन्तर्वार्ता जेठ ११ गतेदेखि सञ्चालन गरिने म्यानेजमेन्टले जनाएको छ । शिक्षा संकायका साथै हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, ब्यूटीसियन तथा हेयर डिजाइनिङ संकायमा पनि भर्ना खुलेको जनाइएको छ । विद्यालयले शैक्षिक प्रणालीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक, सृजनात्मक र जीवनोपयोगी बनाउने लक्ष्यकासाथ आधुनिक प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधिमैत्री कक्षाकोठा तथा अनुभवी शिक्षकको टोलीमार्फत् गुणस्तरीय शिक्षामा जोड दिएको बताएको छ ।







