मेलमिलाप अभ्यास र पर्यटनलगायत विषयमा अन्तरक्रिया

साझाकुरा
२०८३ जेष्ठ ६, बुधबार १०:२०

हेटौंडा- भीमफेदी गाउँपालिकाको न्यायिक समितिले मनाङ जिल्लास्थित चामे गाउँपालिकाको कार्यालयमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा मेलमिलाप प्रणाली, पर्यटन प्रवद्र्धन लगायत पालिकाको विविध विषयमा छलफल गरिएको हो ।कार्यक्रममा भीमफेदी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सञ्जीव श्रेष्ठ, न्यायिक समिति सदस्य उदयप्रसाद हटवाल, न्यायिक सहजकर्तालगायत पालिकाका विभिन्न शाखाप्रमुख तथा स्थानीय मेलमिलापकर्ताको सहभागिता रहेको थियो । चामे गाउँपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिनुदेवी शर्माले पालिकाको भौगोलिक अवस्था, प्रशासनिक अभ्यास तथा समग्र विकास गतिविधिबारे जानकारी गराएकी थिइन् । उनले मनाङका चार पालिकामध्ये जिल्ला सदरमुकाममा रहेको चामे गाउँपालिकाको न्यायिक समितिमा हालसम्म कुनैपनि विवाद दर्ता नभएको उल्लेख गरिन् ।

भीमफेदी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक श्रेष्ठले भीमफेदीको भौगोलिक अवस्था, विकासका पहल तथा न्यायिकक्षेत्रमा भएका कामको अनुभव प्रस्तुत गरेका थिए । उपाध्यक्ष श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमार्फत् पालिकाले उदाहरणीय काम गरेको उल्लेख गर्दै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो गाउँपालिका भएको बताए । पालिकाको नौवटै वडामा स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी अधिकारक्षेत्रभित्रका विवाद वडास्तरमै समाधान हुँदै आएको जानकारी दिए ।

भीमफेदी गाउँपालिका न्यायिक सहजकर्ता कल्पना दुलालले वार्षिकरुपमा नौवटै वडाबाट करिब एक सयजति विवाद दर्ता हुने गरेको जानकारी दिँदै वडाबाट मेलमिलाप हुन नसकेका तथा न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विवाद गाउँपालिकाको न्यायिक समितिमा छलफल र समाधानका लागि आउने गरेको बताइन् । कार्यक्रममा सहभागीले स्थानीय तहबीच अनुभव आदानप्रदानले न्यायिक सेवाप्रवाह, सामुदायिक मेलमिलाप प्रणाली तथा पर्यटन प्रवद्र्धनका पहललाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*