३३ बुँदे संकल्प गर्दै कांग्रेस बागमती प्रदेशस्तरीय भेला सकियो
हेटौंडा-नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ जारी गर्दै सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको दुईदिने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ जारी गर्दै सम्पन्न भएको हो ।भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत् उत्तरदायी र जवाफदेही सरकारको रुपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ । असल शासन, विधि र जवाफदेहीतालाई एकअर्काका परिपुरककारुपमा लिँदै विधिमा टेकेरमात्र निर्णय गर्ने मान्यतामा दृढ रहँदै भेलाले पछिल्ला दिनमा संघीय सरकारबाट भइरहेका अलोकतान्त्रिक र अमर्यादित कार्यप्रति चिन्ता व्यक्त गरेको छ । ‘संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान र मानवीयतालाई केन्द्रमा राख्न ध्यानाकर्षण गराउने,’ भेलाको दोस्रो संकल्पमा उल्लेख छ ।
कांग्रेसको नेतृत्वमा बागमती प्रदेश सरकार र स्थानीय सरकारले सुरु गरेका असल अभ्यास र नवीन सिर्जनात्मक अभियानलाई सूचीबद्ध गरी नागरिकपंक्तिमा पु¥याउने र एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा ग्रहण गर्ने भेलाले निष्कर्ष निकालेको छ । ‘संघीयता र संविधानको मर्मबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अनुरुप समुन्नतिको मार्गमा अगाडि बढ्न संघीय सरकारलाई अपिल गर्दै त्यसमा आफू समर्पित रहने संकल्पको ३२ औं बुँदामा भनिएको छ ।
पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत् सदस्यको योगदानलाई लिपिवद्ध गर्न तथा पार्टी अभियानमा आमसदस्यलाई सीधै जोड्न ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा थप सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने संकल्प भेलाले गरेको छ । भेलामा बागमती प्रदेशसभा सदस्यहरु, स्थानीय सरकार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र एवं स्थानीय तहका पदाधिकारीको सहभागिता रहेको थियो ।
कांग्रेसले जेठ ६ र ७ गते महोत्तरीको बर्दिबासमा मधेश प्रदेशस्तरीय, जेठ ८ र ९ गते सुनसरीको लौकीमा कोशी प्रदेशस्तरीय तथा जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका रहेको छ । सुदूरपश्चिमको धनगढीबाट सुरु भएको कांग्रेसको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ यसअघि गण्डकी र कर्णाली प्रदेशमा आयोजना गरिएको थियो ।







