ढकमक्क फूलेका फूलले चम्कियो हेटौंडा

साझाकुरा
२०८३ जेष्ठ ५, मंगलवार ११:३८

हेटौंडा-हेटौंडा उपमहानगरका विभिन्न सडकक्षेत्रमा ढकमक्क फूलेका फूलले यतिबेला सहरको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । सडक छेउ, डिभाइडर तथा सार्वजनिकस्थलमा रोपिएका रंगीचंगी फूलले हरितसहरको पहिचान बोकेको हेटौंडालाई ‘फूलैफूलको सहर’ का रुपमा थप परिचित गराइरहेको छ । हेटौंडा बजारक्षेत्रको मुख्य व्यापारिक केन्द्र कान्तिराजपथदेखि उपमहानगरभित्रका विभिन्न सडक, पार्क तथा सार्वजनिकस्थानमा फूलेका फूलले स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गरिहेका छन् । व्यवस्थितरुपमा सजाइएका फूल तथा हरियालीले सहरलाई स्वच्छ, शान्त र मनमोहक बनाएको छ ।

कान्तिराजपथस्थित डिभाइडर, भैरवरोड, हुप्राचौर, कमानेलगायत क्षेत्रका सडक किनार तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका मौसमी फूल ढकमक्क फूलेका देख्न सकिन्छ । उपमहानगरपालिकाले १९ वटै वडामा फलफूल तथा मौसमी फूलका बिरुवा वितरण गर्दै वृक्षरोपण तथा हरियाली प्रवद्र्धन अभियानलाई निरन्तरता दिएको जनाएको छ ।नगरलाई स्वच्छ, हरित र आकर्षक बनाउने उद्देश्यका साथ योजनाबद्धरुपमा हरियाली विस्तारमा लगानी गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ ।

फूल तथा हरियाली व्यवस्थापनका लागि दैनिकरुपमा कर्मचारी परिचालन गरी संरक्षण, सरसफाइ तथा स्याहारसम्भारको काम समेत भइरहेको वातावरणशाखाले जानकारी दिएको छ । उपमहानगरपालिकाले आगामी पाँच वर्षभित्र ५० हजार बिरुवा रोप्ने लक्ष्यसहित हरियाली विस्तार अभियान सञ्चालन गरिरहेको छ । सडकक्षेत्रको फूल तथा सरसफाइ व्यवस्थापनका लागि करिब एक सय जनशक्ति परिचालन गरिएको वातावरण शाखाले जनाएको छ । हरियाली विस्तारसँगै हेटौंडाको सौन्दर्य, वातावरणीय सन्तुलन तथा पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*