बागमती गाउँपालिकामा मानवअधिकार सचेतना कार्यक्रम

साझाकुरा
२०८३ जेष्ठ ५, मंगलवार ११:४२

हेटौंडा-पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा एकदिवसीय मानवअधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका–६ ठाडीखोला स्थित सीता आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । नेपाल मानवअधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थापक अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत प्रमुख अतिथिका रुपमा सहभागी थिइन् ।

कार्यक्रम संयोजक शर्मिला श्रेष्ठले मानवअधिकारबारे जनचेतना अभिवृद्धि गरी नागरिकलाई अधिकारप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख शान्ति लामा, वडासदस्य सीता बिक, विद्यालयका प्रधानाध्यापक राजकुमार आले, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर थिङ, रेडक्रस सभापति शंकर पराजुलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले मानवअधिकारसँगै कर्तव्य र नैतिकतालाई पनि समानरुपमा महत्व दिनुपर्ने बताइन् ।

उनले नैतिकता बिर्सेर अधिकार मात्रै खोज्नु उचित नहुने उल्लेख गर्दै सकारात्मक सोचका साथ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखिन् । बस्नेतले मानवअधिकारसम्बन्धी प्रस्तुतीकरण दिँदै मानवजातिको अधिकार, कर्तव्य, नागरिकअधिकार तथा अधिकारका आधारभूत पक्ष र विशेषताबारे जानकारी गराएकी थिइन् । अधिवक्ता पम्फा पुरीले मानव अधिकारसम्बन्धी कानुनी प्रक्रियाबारे जानकारी दिँदै मानवअधिकार हनन, पीडित र पीडकको परिभाषा, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सार्वजनिक अपराध तथा कानुनी प्रावधानबारे प्रस्तुतीकरण दिइन् ।

उनले पछिल्लो समय बालविवाह गरेका २३ देखि २८ वर्ष उमेर समूहका दम्पती सम्बन्धविच्छेदका लागि आउने क्रम बढेको जानकारी दिइन् । कार्यक्रममा मकवानपुर रिकभरिङ सेन्टरका सदस्य अशेष थापाले लागुऔषध दुव्र्यसनसम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उनले लागुऔषध सेवनका लक्षण, त्यसबाट हुने असर, अभिभावकको भूमिका, प्रयोगकर्ताको पहिचान तथा बागमती प्रदेशमा लागुऔषधको अवस्थाबारे जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*