सर्वोत्तम संचिती र सुन्दर एकीकरणको तयारी : चौकीटोलमा खुल्यो बिक्री केन्द्र
हेटौंडा-हेटौंडा–८ कमानेस्थित सर्वोत्तमसंचिति बचत तथा ऋण सहकारी संस्था र हेटौंडा–१ चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था एकीकरणको अन्तिमचरणमा पुगेको छ । आगामी जेठ २३ गते बृहत संयुक्त साधारण सभा गरेर नयाँ तदर्थ समिति चयन गरिने जनाइएको छ । बचत र ऋणको कारोबारसँगै सर्वोत्तम ब्राण्डमा विभिन्न अर्गानिक वस्तु उत्पादन गरी बिक्री गर्दै आइरहेको सर्वोत्तमसंचिति सहकारीले सोमबार एक कार्यक्रमबीच सुन्दर सहकारी भवनमा वस्तु बिक्रीकेन्द्र सञ्चालनमा ल्याएको छ ।
संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षता तथा वडा १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा बिक्री केन्द्रको उद्घाटन गरिएको हो । वडाअध्यक्ष न्यौपानेले राज्यले लिएको नीतिअनुरुप सहकारी एकीकरण गरी सेवाप्रवाहमा व्यापकता ल्याउने गरी दुई सहकारी एकीकरणको अन्तिमचरणमा रहेको बताए । ‘२ वर्षदेखि एकीकरण गर्ने तयारीअनुरुप अब पूर्णता पाउन लागेको छ, सबै मिलेर जिल्लाकै उत्कृष्ट सहकारी बनाउने सदस्यको दायित्व रहन्छ,’ उनले भने । दुबै सहकारीको सभासँगै गरिएको एकीकरणको तयारीपछि चौकीटोलमा शेयर सदस्यको सहजता रहनेछ भन्ने हेतुले बिक्रीकेन्द्र सञ्चालन गरिएको बताए । सहकारीले अर्गानिक वस्तु उपभोग गरि स्वस्थ रहनको लागि दैनिक उपभोग्य सामग्रीको बिक्री गर्ने उनले बताए । २३ गते हुने सभापछि समूहगतरुपमा अझ बढी छलफल र सहकारीले गर्ने सेवाप्रवाहबारे सदस्यलाई जानकारी गराइने न्यौपानेले बताए ।
आफू यसै संस्थाको सचिव समेत रहेकाले सहकारीलाई एकीकरण गरी पुजीँलाई वृद्धिगरी सहकारी मातहतमा रहेको उद्योगलाई थप व्यवस्थित गरी सञ्चालन गरिने उनले बताए । जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले ऐनमा रहेर विनियम निर्माण हुन्छ । सहकारीले आफ्नो सेवाप्रवाह गरिनुपर्ने बताए । दुबै सहकारीका सदस्य एकै हुन् भन्ने भावनाकासाथ अघि बढ्न आग्रह गर्दै संघबाट गरिनुपर्ने सहयोग आफूले गर्ने प्रतिवद्धता व्यक्त गरे । नीति, विधि र पद्दतीमा रहेर सेवा गरी उत्पादित वस्तु खरिद र बिक्री गर्न जोड दिए ।
सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीले उत्पादनमुखी बनाउने भन्ने भावका साथ सहकारी एकीकरण गर्न लागेको बताए । पुजीँलाई बढाउनको लागि एकमात्र माध्यम उत्पादनमुखी कार्य रहेकाले हामीले दुई वर्षको मेहनतका साथ सहकारी एकीकरण गर्न लागिएको नकर्मीले बताए । ‘बचत र ऋणको काममात्रै थियो अब उद्योगका उत्पादित सामग्री बिक्री गर्ने भएका छौं’ उनले भने । सामग्री खरिद र बिक्री गर्नुपर्ने हामी दुबै सहकारीको दायित्व रहन्छ ।संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले एकीकरणको औचित्य पूरा हुन सबै सदस्यको मनोभावना बुझ्नुपर्ने बताउँदै प्रत्येक सदस्यको घरमा पुगेर सहकारी र सहकारीबाट हुने सेवाप्रवाहलाई जानकारी गराउनु पर्ने धारणा राखे । एकीकरणले सदस्यमा उत्साहका साथै समितिमा थप जिम्मेवार बनाउँदै लगेको बताए । ‘२३ गते सभापश्चात तदर्थ समिति बन्ने उनले बताए । नीति, विधि र पद्दतीमा रहेर काम गर्ने बताउँदै हाम्रा आमा नीति र विधि हुन् आमालाई सधैं सँगै राख्नेछौं’ उनले भने ।
‘बचत र ऋणको मात्रै काम गर्नुपर्छ भन्ने छैन, उत्पादनसँग जोडेर हामी सहकारीलाई यहाँसम्म ल्याएका छौं । अर्गानिक सामग्री उत्पादन गरी सदस्य र उपभोक्तालाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो । बजारसँग हाम्रो प्रतिस्पर्धा होइन, हाम्रो चाहना सदस्यलाई स्वस्थ उत्पादित वस्तु खुवाउने मात्रै रहेको छ’ अध्यक्ष बस्नेतले बताए । सहकारीले ४२ वटा उत्पादित सामग्री विक्री गर्ने गरेको छ । यो तेस्रो बिक्री केन्द्र भएको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । सर्वोत्तम ब्राण्डमा चनाको सातु, फापरको पिठो, मकै, तोरीको तेल, दाना, दाल, गेडागुडी लगायत थुप्रै वस्तुहरु खरिद गरी बिक्री गर्ने गरेको थापाले बताए । सहकारीले कमानेबाट र हेटौंडा–४ खोपेगल्लीबाट पनि उत्पादित वस्तुहरु बिक्री गर्दै आइरहेको छ । कार्यक्रममा दुबै सहकारीका पदाधिकारी, सञ्चालक सदस्य, सल्लाहकारहरु, शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।







