हेटौंडामा पहिलोपटक ‘नेवाः फुड फेस्टिवल’ हुने

साझाकुरा
२०८३ जेष्ठ ८, शुक्रबार १२:४३

हेटौंडा-नेवार समुदायको कला, संस्कृति, परम्परा तथा खानपानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक ‘नेवाः फुड फेस्टिवल तथा विविध सांस्कृतिक कार्यक्रम २०८३’ हुने भएको छ ।हेटौंडा उपमहानगरपालिका–२ को कार्यालयको सहयोग तथा नेवाः फुड फेस्टिवल सञ्चालन समिति हेटौंडा–२ को आयोजनामा जेठ १५, १६ र १७ गते तीन दिनसम्म कार्यक्रम सञ्चालन हुने भएको हो । फेस्टिवलसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अनिल शाहीले नेवार समुदायको मौलिक संस्कृति, परम्परा तथा खानपानको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

हेटौंडा–२ स्थित सांगमचोकमा सञ्चालन हुने फेस्टिवलमा नेवार समुदायका परम्परागत परिकार, भेषभूषा, गीत, संगीत तथा नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रमअन्तर्गत विभिन्न खानाका परिकारका स्टल राखिनेछन् भने अन्तिम दिन अर्थात् जेठ १७ गते ‘टिपिकल सुखु भोज’ आयोजना गरिने आयोजकले जनाएको छ । फेस्टिवल सञ्चालनका लागि स्टेज, साउण्ड सिस्टम, कलाकार खर्च, स्टल निर्माण तथा लाइट डेकोरेशन लगायतमा करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुल खर्चमध्ये ४० प्रतिशत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ र उपमहानगरपालिकाबाट तथा बाँकी रकम प्रायोजक र सहयोगीद्वारा व्यवस्थापन गरिने जनाइएको छ ।

कार्यक्रम हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाअध्यक्ष महर्जनले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*