गढी गाउँपालिकाबाटै अब करसम्बन्धी सेवाप्रवाह

साझाकुरा
२०८३ जेष्ठ ७, बिहीबार १२:५५

हेटौंडा-राणाकालीन समयको अन्त्यतिर मकवानपुरगढीमा जिल्लाभरिका मानिसहरु मालपोत कर बुझाउनका लागि धाउने गरेका थिए । पञ्चायती ब्यवस्थाको सुरुवातताकासम्म जिल्लाबासीले मकवानपुरगढीमै कर दाखिला गर्दै आएका थिए ।
मुलुक संघीयतामा गएपछि मकवानपुरगढी गाउँपालिकाबाटै अब करसम्बन्धी सेवाप्रवाह हुने भएको छ । गाउँपालिका र आन्तरिक राजस्व कार्यालय हेटौंडाबीच स्थानीय तहबाटै करदाता सेवाप्रवाह गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएसँगै पालिकाबाटै सेवाप्रवाह हुने भएको हो । करदातालाई सहज, छिटो तथा पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित गरिएको सम्झौतापत्रमा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदी र मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत सुधन लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनलगायतको उपस्थिति रहेको थियो । सम्झौताअनुसार अब मकवानपुरगढी गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायीलेखा नम्बर (प्यान) दर्ता, मूल्य अभिवृद्धिकर (भ्याट) दर्ता, करचुक्ता प्रमाणपत्र जारी, अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरणलगायतका आधारभूत करदातासेवा उपलब्ध हुने भएको छ । यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राही हेटौंडास्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था रहेको थियो ।

अब स्थानीय तहबाटै सेवा प्राप्त हुने भएपछि नागरिकलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ । प्रमुख करअधिकृत सुवेदीले संघीय सरकारको करसेवा पहुँच विस्तार नीतिअनुसार स्थानीय तहसँग सहकार्य गर्दै सेवा विस्तार गरिएको बताए । उनकाअनुसार आगामी दिनमा मकवानपुरका सबै स्थानीय तहबाट यस्ता सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष स्याङ्तानले स्थानीय तहबाटै करसेवा सुरुहुनु नागरिकका लागि सकारात्मक कदम भएको उल्लेख
गर्दै सेवाप्रवाहलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहकार्य गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*