जिल्लामा अपेक्षाकृतरुपमा मतदाता संख्या बढ्न सकेन
हेटौंडा- मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आउँदो फागुन २१ गतेको लक्षित निर्वाचन सफल बनाउन प्रशासन तीव्र रुपमा लागेको बताएका छन् ।बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा उनले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन सबैपक्ष सक्रिय रहेको बताए । प्रजिअ अधिकारीले जेनजी आन्दोलनका क्रममा केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोबल खस्किएको उल्लेख गर्दै अब मनोबल उच्च बनाएर जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च नबनाई चुनाव लक्षित कार्यक्रमहरु गर्न सकिदैंन’ उनले भने, ‘प्रहरी संगठनका सम्पूर्ण कर्मचारीदेखि सरकारी कर्मचारीको मनोबल उच्च बनाउन प्रशासन लागि रहेको छ ।’
खस्केको मनोबल नउठाई निर्वाचन सफल पार्न नसकिने भन्दै मनोबल उच्च राख्दै नागरिकमैत्री सेवाप्रवाहमा ध्यान दिइरहेको उनले दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी अधिकारीले जेनजी आन्दोलनलाई राष्ट्रसेवक कर्मचारीले सकारात्मकरुपमा बुझ्न आवश्यक रहेकोमा जोड दिए । व्यवस्था परिवर्तन र सुशासन स्थापनाको सन्देश जेनजी आन्दोलनले दिएको उनको धारणा छ । ‘जेनजी आन्दोलन भनेको एउटा प्रणाली स्थापितगरेको हो, सुशासन, भ्रष्टचार रहित समाज, आर्थिक अनुशासन स्थापित गर्न जेनजी आन्दोलन भएको हो भन्ने मानसिकताका साथ हामी राष्ट्रसेवक कर्मचारी रहेका छौं’ उनले भने ।
मतदाता नामावली अद्यावधिकको विषयमा उनले जिल्लामा अपेक्षाकृतरुपमा मतदाता संख्या नबढेको बताए । २०७९ सालदेखि हालसम्म करिब २ हजार मात्र मतदाता थपिएको भन्दै प्रजिअ अधिकारीले दर्ताका लागि सदरमुकाम आउनुपर्ने प्रक्रिया व्यवहारिक नभएको टिप्पणी गरे । टाढाका बासिन्दालाई पायक नपरेकाले पालिकास्तरमै शिविर सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीय तहले न्यायिक समितिलाई प्रभावकारी बनाउन नसकेको बताए । न्यायिक समिति प्रभावकारी नहुँदा घरझगडादेखि सामान्य विवादसम्मका विषय प्रशासनले हेर्नुपरेको उनले बताए । स्थानीय तहका उपप्रमुखहरुले स्थानीय सरकार सञ्चालन ऐनका दफा ४७ र ४८ मा रहेका कामहरु आफै टुंग्याउनुपर्ने उनले बताए ।
प्रजिअ अधिकारीले नकारात्मक भावना नराखी आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्नुपर्नेमा जोड दिए । केही गर्न सकिँदैन, केही हुँदैन भन्ने भावना राख्न नहुने उनको भनाई छ । आपूm नतिजामा विश्वास गर्ने व्यक्ति भएको उनले जिकिर गरे । उनले आपूm जिल्लामा बसुन्जेल जिम्मेवार, पारदर्शी र जवाफदेही भएर काम गर्ने बताए । समस्याबाट आफू नभाग्ने र नआत्तिने उनले बताए । स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने गतिविधिलाई नियन्त्रण गर्न कठोर भएर लाग्न उनले प्रहरी प्रमुखलाई निर्देशन दिए । प्रजिअ अधिकारीले जिल्लाको यातायातक्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षले छिट्टै छलफल गर्ने बताए ।
उनले जिल्लामा रहेका सम्पूर्ण सञ्चारकर्मीलाई निर्धक्कका साथ समाचार लेख्ने वातावरण निर्माणको लागि प्रशासन प्रतिबद्ध रहेको बताए । प्रशासनमा सञ्चारकर्मीलाई फोटो, भिडियो खिच्न कुनै पनि किसिमको रोकतोक नरहेको उनले बताए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुवासचन्द्र बोहराले मकवानपुरलाई गाईगोरु तस्करी केन्द्र भनेर गलत बुझाइ नगर्न आग्रह गरे । मकवानपुर तस्करीको केन्द्र नभई अन्य जिल्लाबाट ल्याइएका गाईगोरु र तरकारी ढुवानीका लागि ट्रान्जिटको रुपमा प्रयोग भइरहेको उनले बताए । आपूmले जिम्मेवारी सम्हालेको ४५ दिनभित्रै चारपटक गाईगोरु तस्करीमा संलग्न समूहविरुद्ध कारबाही गरेको उनले दाबी गरे ।
यसअवधिमा सातजनालाई पक्राउ गरी कानूनी कारबाही अघि बढाइएको उनको भनाइ छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै २०० भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएका थिए । यस आर्थिक वर्षमा ७० सहित हालसम्म कुल २७० गाईगोरु नियन्त्रणमा लिइएको छ । पश्चिम तर्फबाट पूर्वका जिल्लातर्फ लैजाने क्रममा मकवानपुरलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. ब्रजकिशोर ठाकुरको भनाई छ ।
अन्त्रक्रियामा सञ्चारकर्मीले जिल्लामा बढ्दै गएको लागूऔषध कारोबार, सुरक्षा व्यवस्था, गाँजा नियन्त्रण, अवैध ढुंगागिटी उत्खनन, बसपार्कमा मौलाउँदै गएको यौन व्यवसाय र एम्बुलेन्स चालकको मनोमानीलगायत विषयमा सवाल उठाएका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।







