उपमहानगरबाटै कर प्रशासनसम्बन्धी सेवा पाइने
हेटौंडा-करदातालाई सहज, छिटो तथा पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले अब कर प्रशासनसँग सम्बन्धित विभिन्न सेवा स्थानीय तहबाटै प्रवाह गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालय, हेटौंडाबीच मंगलबार भएको सम्झौताअनुसार आगामी जेठ १३ गतेदेखि यो सेवा औपचारिकरुपमा सञ्चालनमा आउने जनाइएको छ ।
यस व्यवस्थासँगै अब करदाता दर्ता, स्थायी लेखानम्बर सम्बन्धी सेवा, मूल्यअभिवृद्धि करदर्ता लगायतका महत्वपूर्ण सेवाका लागि सेवाग्राहीले आन्तरिक राजश्व कार्यालय धाइरहनुपर्ने बाध्यता कमहुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै सेवा उपलब्ध हुने भएपछि व्यवसायी, उद्योगी तथा सर्वसाधारण करदाताले समय र खर्च दुवै बचत गर्नसक्ने विश्वास गरिएको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।
सम्झौताअनुसार उपमहा नगरपालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखानम्बर दर्ता गर्ने, अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरण गर्ने, व्यक्तिगत स्थायी लेखानम्बरलाई व्यावसायिकमा रुपान्तरण गर्ने तथा करदाता विवरण र अभिलेख अद्यावधिक गर्ने कार्य सञ्चालन गरिनेछ । त्यसैगरी करदाताको प्रोफाइल तयार तथाअद्यावधिक गर्ने, मूल्य अभिवृद्धि करमा दर्ता गर्ने, आयकरबाट भ्याटमा रुपान्तरण गर्ने, दर्ता खारेजीसम्बन्धी सेवा उपलब्ध गराउने तथा करचुक्ता प्रमाणपत्र जारी गर्ने व्यवस्था पनि उपमहानगरपालिकाबाटै हुने बताइएको छ ।
यसका अतिरिक्त कार्यालय स्थानान्तरण तथा शाखा थपसम्बन्धी सेवा, करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन, करदाताको बक्यौता लगत व्यवस्थापन लगायत सेवा समेत स्थानीय तहबाट सञ्चालन गरिनेछ । संघीय कार्यालयसँगको समन्वयमा कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्य राखेको नगरप्रमुख लामाले बताइन् ।







