सुकुम्बासी समस्या सम्बोधन गर्न अनेरास्ववियुको ध्यानाकर्षणपत्र

साझाकुरा
२०८३ बैशाख २९, मंगलवार १२:३१

हेटौंडा- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्यालाई लिएर जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएको छ । सोमवार अनेरास्ववियु मकवानपुरका अध्यक्ष नवराज शर्मा पौडेलको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ७ बुँदे माग सहितको ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा जिल्लाभित्र रहेका वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको वैज्ञानिक पहिचान गरी तत्काल वास्तविक तथ्यांक सार्वजनिक गर्न माग गरिएको छ । वास्तविक सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरागरी अविलम्ब जग्गाको स्वामित्व (लालपुर्जा) प्रदान गरी सुरक्षित बसोबासको सुनिश्चितता गर्न माग गरिएको छ ।

सुकुम्बासीबस्तीका बाल बालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोउन भन्नका लागि विशेष शैक्षिक प्याकेज, निःशुल्क भर्ना र उच्चशिक्षासम्म छात्रवृत्तिको ग्यारेन्टीको माग गरिएको छ । विकल्प र उचित व्यवस्थापनबिना सुकुम्बासीबस्तीमा बल प्रयोग गर्ने, डोजर चलाउने वा बालबालिकाको मनोविज्ञानमा असर पर्नेगरी त्रास फैलाउने कार्य तत्काल बन्द गर्नुपर्ने लगायतको ७ बुदाँ रहेका छन् । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ अधिकारीले सुकुम्बासी बस्तीमा हचुवाको भरमा डोजर नचल्ने स्पष्ट पारे । उनले सुकुम्बासीको यथार्थ लगत संकलन र उचित व्यवस्थापनको खाका तयार पारेर मात्र प्रक्रिया अगाडि बढाइने बताए ।

प्रजिअ अधिकारीले भने ‘विद्यार्थी त्रसित हुनुपर्ने कुनै कारण छैन । विद्यार्थी ढुक्क भएर अध्ययनमा लाग्नुहोस् । विशेष गरी विद्यार्थीलाई प्रत्यक्ष असर पर्नेगरी कुनैपनि कार्य गरिने छैन’ उनले विद्यार्थीका लागि निःशुल्क भर्ना र बिजुली जस्ता आधारभूत सुविधाका विषयमा सरकारका तर्फबाट हुन सक्ने सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।ध्यानाकर्षणपत्र हस्तातरणमा अनेरास्ववियु मकवानपुर जिल्ला सचिवालय सदस्य भारत देवकोटा, मकवानपुर क्याम्पस स्ववियु सदस्य एवं अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उन्नत देवकोटा, हेटौंडा क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारी, हेटौंडा उपमहानगर अध्यक्ष रिजन जिसी, विद्यार्थी नेता सुमन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*