मकवानपुरमा ५१ प्रतिशत विद्यार्थी ग्रेडेड : १३ जना विद्यार्थीले ४ जिपिए ल्याए

साझाकुरा
२०८३ बैशाख ३०, बुधबार ०८:१७

हेटौंडा- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका ५० दशमलब ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सोमबार सार्वजनिक भएको नतीजाअनुसार २ हजार ८ सय १८ जना विद्यार्थी ग्रेडेड भएका हुन् । ५ हजार ५ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ हजार ७ सय ९ जना विद्यार्थी नन्ग्रेडेड भएका छन् । गतवर्ष मकवानपुरमा ४६ दशमलब ८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । एसईईमा मकवानपुरका १३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

सोमबार सार्वजनिक भएको नतीजाअनुसार सामुदायिक विद्यालयका २ जना र संस्थागत विद्यालयका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिए । गतवर्ष मकवानपुरबाट ५ जनाले मात्रै ४ जीपीए ल्याएका थिए । यो वर्ष हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयबाट एक–एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै संस्थागत विद्यालयतर्फ हेटौंडा–४ स्थित नवोदय शिशुसदन र हेटौंडा–५ स्थित जीएस निकेतनबाट ३–३ जना विद्यार्थीले ४ जीपीए ल्याउँदा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल रहेटौंडा–४ स्थित व्रह्मदिक् एकेडेमीबाट २–२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

यस्तै हेटौंडा–१३ पदमपोखरीस्थित फेमकोल एकेडेमीबाट १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।मकवानपुरबाट ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४ सय ३६ जना छन् । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ७ सय ८९ जना, २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८२ जना विद्यार्थी छन् । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने विद्यार्थी ५ सय ५५ जना छन् । २ जीपीएदेखि २.४ जीपीए हासिल गर्ने विद्यार्थी ४३ जना रहेका छन् ।

६ विद्यालयको नतिजा शतप्रतिशत

मकवानपुरका ६ वटा संस्थागत विद्यालयको नतीजा शतप्रतिशत आएको छ । सोमबार सार्वजनिक भएको नतीजाअनुसार हेटौंडा उपमहानगरका ३ वटा र थाहानगरका ३ वटा विद्यालयले शतप्रतिशत नतीजा हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल सेकेण्डरी स्कूलको शतप्रतिशत नतीजा आएको छ । यस्तै थाहा नगरपालिकास्थित पालुङ इंग्लिस आवासीय स्कूल, पालुङ मोडर्न इंग्लिस मिडियम स्कूल र पालुङ भ्याली हर्ट एकेडेमीले शतप्रतिशत नतीजा हासिल गरेको छ । बालजागृतिबाट १ सय २ जना, ज्ञानोदयबाट १६ जना, तुलसीमेहरबाट ६१ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।पालुङ इंग्लिसबाट ७ जना, पालुङ मोडर्नबाट १३ जना र पालुङ भ्यालीबाट १९ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

४ विद्यालयको नतीजा शून्य

यसैगरी मकवानपुरका ४ विद्यालयको नतीजा शून्य आएको हो । मकवानपुरको राक्सिराङ गाउँपालिकाको ३ वटा विद्यालय र भीमफेदी गाउँपालिकाको १ विद्यालयको नतीजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी दिएको छ ।राक्सिराङ गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय, राक्सिराङ गाउँपालिका–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय र राक्सिराङ गाउँपालिका–८ स्थित श्री माध्यमिक विद्यालयको नतीजा शून्य आएको हो । भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको नतीजा शून्य आएको छ । कालिका माविबाट ६ जना, राष्ट्रिय मावि १ जना र श्री माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । पञ्चकन्या माध्यमिक विद्यालयबाट भने ६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । गतवर्ष मकवानपुरका ७ वटा विद्यालको नतीजा शून्य आएको थियो ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो । मनहरी गाउँपालिकामा रहेका ३ संस्थागत तथा ९ सामुदायिक माविको समग्र परिणाम कमजोर देखिएको बताइएको छ । मनहरीका ४८९ विद्यार्थी परीक्षामा सहभागी भएको र एकसय ४३ जना अर्थात् २९ दसमलव २४ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*