खुशी हुँदै सेवाग्राही भन्छन् : सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भयो

हेटौंडामा घरघरमा पुग्दै राहदानी
साझाकुरा
२०८३ बैशाख ३, बिहीबार १०:२२

हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा आज बुधबारदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिकरुपमा सुरु गरेको छ । नेपाल सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्ययोजनाअन्तर्गत नागरिकलाई सहजरुपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला हुलाक कार्यालयमार्फत् घरघरमै राहदानी पु¥याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो । पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट सेवाप्रवाह सुरु गरिएको प्रशासनले जनाएको छ । घरमै पासपोर्ट पुग्न थालेपछि सेवाग्राही अचम्मित हुनुका साथै उत्साहित बनेका छन् ।

सेवाको सुरुवातकारुपमा हुलाक कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४, कपुर कम्प्लेक्स नजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेर राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हल्कारा, जिल्ला हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी मानन्धरको घरमै पुगेका थिए । घरमै राहदानी पाउँदा खुशी व्यक्त गर्दै मानन्धरले सरकारको यो कदम स्वागतयोग्य भएको बताए । ‘बल्ल सरकारले राम्रो कामको सुरुवात ग¥यो ।

यस्तै सेवा अन्यक्षेत्रमा पनि विस्तार गर्नुपर्छ’ उनले भने ।राहदानी लिन सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । यसबाट समय, खर्च र झन्झट कमभई राज्यको सेवा दैलोमै पुगेको अनुभूति भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार हुलाक कार्यालयमार्फत वितरणका लागि ५० वटा राहदानी पठाएको छ । नजिकका वडामा बुधबार र टाढाका क्षेत्रमा बिहीबारसम्म राहदानी सम्बन्धित ब्यक्तिको घरमै पु¥याइने हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेले बताए ।

हाल स्रोतसाधन र सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार गर्न नसकिएको कार्यालय प्रमुख लामिछानेले बताए । मकवानपुरको भौगोलिक बनोटका कारण पनि सबै पालिकामा तत्काल सेवा विस्तार गर्न कठिन रहेको उनको भनाइ छ । राहदानी जस्तो महत्वपूर्ण कागजपत्र सुरक्षितरुपमा सेवाग्राहीसम्म पु¥याउनु चुनौतीपूर्ण भएकाले पनि सेवा विस्तारमा समस्या रहेको जनाइएको छ । यसकासाथै हुलाक कार्यालयमा सवारीसाधन र जनशक्तिको अभावका कारण टाढाका क्षेत्रमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको छ ।

स्रोतसाधन र कर्मचारी थपभए अन्य पालिकामा पनि सेवा सहजरुपमा सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । पहिलोचरणमा राहदानी लिन नआएका करिब साढे ५ सय सेवाग्राहीलाई हुलाकमार्फत् घरमै वितरण गर्ने तयारीे छ । भविष्यमा यो सेवालाई विस्तार गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*