थाहामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

साझाकुरा
२०८३ बैशाख ३, बिहीबार १०:४४

हेटौंडा-संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रुपमा मान्यता दिएपछि थाहा नगरपालिकामा पहिलोपटक भव्यरुपमा दिवस मनाइएको छ ।थाहा नगरपालिकाको आयोजनामा ‘आरोग्य थाहानगर अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा योग, ध्यान तथा आरोग्यसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । ‘हिमालको चेतना विश्वको आरोग्य’ भन्ने मूल नारा सहित मनाइएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी, विद्यार्थी, सुरक्षाकर्मी तथा महिला समूहको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा जीवनविज्ञान प्रतिष्ठानका संस्थापक रमेश नेपालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताकारुपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आन्तरिक जागरण र आरोग्यमार्फत आर्थिक तथा आध्यात्मिक पर्यटनको विकास सम्भव रहेको धारणा राख्दै विश्वलाई स्वस्थ राख्न आरोग्यको महत्वबारे प्रशिक्षण दिए ।

थाहा नगरप्रमुख बिष्णु बिष्टले स्वस्थ्य जीवनशैलीका लागि योग र आयुर्वेदको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै नियमित योग र ध्यान अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । उनले यस्ता कार्यक्रमले ‘आरोग्य थाहानगर’ अभियानलाई सफल बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।शिखरकोट फल्चाबाट सुरु भएको ¥याली गोपाली गाउँ हुँदै पालुङ जेसीज सभाहलमा पुगेर योग तथा ध्यान अभ्याससहित आरोग्य प्रशिक्षण कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा सहभागीलाई विश्वभर एकैपटक ५० लाख मानिसलाई ध्यान गराउने अभियान अन्तर्गत १५ मिनेट सामूहिक ध्यान गराइएको थियो । बागमती प्रदेश सांसद कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, थाहा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रुपमा औपचारिक मान्यता दिएको हो । गत फागुन २६ गते अनुमोदन भएको प्रस्तावपछि विश्वभर पहिलोपटक यो दिवस मनाइएको हो । समग्र स्वास्थ्य, सुख तथा सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यसहित मनाइने यस दिवसले सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासतर्फ विश्व समुदायलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*