खुल्ला दौड प्रतियोगितामा बकैयाका गोले प्रथम
हेटौंडा-नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका–६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा बकैयाका राजकुमार गोले पहिलो भएका छन् ।नयाँवर्ष २०८३ को अवसरमा आयोजित प्रतियोगितामा बकैयाकै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमज· तेश्रो भएका थिए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र तेश्रो हुनेले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी महिलातर्फ हेटौंडा–१३ कि साधना लोप्चन पहिलो, हेटौंडा–१३ कै गंगा मोक्तान दोश्रो र हेटौंडा–३ कि स्वस्तिका थिङ तेश्रो भएकी थिइन् । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाको प्रमुख आतिथ्यता एवम नेपाल तरुण दल जिल्लासदस्य राजकुमार बास्तोलाको सभापतित्वमा दौड प्रतियोगिता भएको हो ।
कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडाअध्यक्ष दामोदर गौतम, १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा–६ का वडासदस्य विजय पौडेल, कांग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगरसभापति उत्सव ईटेनी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, प्रहरीचौकी चौघडाका ईन्चार्ज बैजु सहनी लगायतको उपस्थिति थियो । प्रतियोगितामा ४ महिला सहित ३० जनाको सहभागिता रहेको थियो । तरुण दलले नयाँवर्षको अवसरमा प्रत्येक वर्ष खुल्ला दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।







