नेपालमा जलविद्युतको पर्याप्त सम्भावना छ : भारतीय महावाणिज्यदूत मिना

साझाकुरा
२०८३ बैशाख ५, शनिबार ०८:५०

हेटौँडा-नेपालका लागि भारतीय महावाणिज्यदूत देवी सहाइ मिनाले नेपालमा जलविद्युत व्यापारमा ठुलो सम्भावना रहेको बताएकी छन् ।नेपाल उद्योग परिसंघ तथा भारतीय संस्था पञ्जाब–हरियाणा–उत्तर प्रदेश (पीएचडी) उद्योग वाणिज्य संघको समन्वयमा हेटौँडामा आयोजित अन्तक्र्रियामा महावाणिज्यदूत मिनाले नेपालले आफ्नो जलविद्युत उत्पादन क्षमता बढाएर भारतमा बेच्न सके पर्याप्त फाइदा लिन सक्ने उल्लेख गरेका हुन् ।

हाल नेपालले भारत तथा बंगलादेशलाई विद्युत बिक्री गरिरहेको उदाहरण दिँदै भविष्यमा नेपालले विद्युत व्यापारको दायरा बढाउनुपर्ने सुझाव दिए । उनले जलविद्युतसँगै कृषि, कृषिजन्य प्रशोधन उद्योगहरु, जडिबुटी, औषधी लगायत क्षेत्रमा नेपालले उत्पादन बढाएर भारतलाई बेच्न चाहेमा भारत तयार रहेको बताए । नेपालले आईटीलगायत अन्य प्रविधि र पर्यटनमा पनि राम्रो सम्भावना रहेकोले उद्योगीहरुलाई यसबारे सोच्न आग्रह गरे ।

उनले भारतको मोतिहारी देखि नेपालको अमलेखगञ्जको पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै दुई देशबीचको नमूना सहकार्य भएको उल्लेख गर्दै भविष्यमा भारत नेपालसँग अन्तर्राष्ट्रिय व्यापारका लागि विभिन्न योजनामा काम गर्न तयार रहेको बताए ।उद्योग परिसंघ नेपालका महानिर्देशक घनश्याम ओझाले सिमा पारबहन व्यापारमा अहिले भइरहेको प्रशासनिक झन्झट हटाएर सरल, पारदर्शी र आधुनिक बनाउन नेपाल र भारत दुवै देशहरुले तत्परता देखाएको बताए ।

उनले नेपाल सामाजिक, साँस्कृतिकरुपमा समानान्तर भएपनि हाल नेपालले मात्र व्यापार घाटा व्यहोरिरहेकोले व्यापार घाटा कम गर्न भारतले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले हाल नेपालले जडीबुटी, तयारी सामान र कृषिजन्य सामग्रीहरु निर्यात गरिरहेको बताउँदै निर्यात उन्मुख नेपाली उत्पादनलाई भारतीय बजारमा सहजतापूर्ण वातावरण बनाउन भारत सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे ।अन्तरक्रियामा सहभागी उद्योगी तथा व्यवसायीहरुले दुई देशबीचको सिमा पारबहनलाई सुदृढ बनाउन परीक्षण तथा प्रमाणित सुविधा विस्तार गरी तत्काल नै निर्यात गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । यस्तै, भारतीय भन्सारमा भारतीय सामान सहजरुपमा पठाउने तर, नेपाली सामग्री निर्यात गर्दा रोकेर दुःख दिएको भन्दै महावाणिज्यदूत मीनाको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपालमा भारतमा स्थापित सूचना प्रविधिजन्य उद्योगको नेपालमा शाखा खोल्दा नेपाली सूचना प्रविधिका श्रमशक्ति प्रयोग हुने भएकोले सूचना प्रविधीमा भारतीय व्यवसायीहरुलाई लगानी गर्न नेपाली पक्षबाट सुझाव दिइएको छ ।पीएचडी उद्योग वाणिज्य संघ भारतका नेपाल भारत सेन्टरका वरिष्ठ सचिव अतुलकुमार ठाकुरले समन्वय गर्नुभएको कार्यक्रममा उद्योग परिसंघ नेपाल बागमती प्रदेशका अध्यक्ष त्रिलोचन कँडेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिँह रानाभाट, चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, चिवतन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*