हेटौँडा सिमेन्ट उत्पादन फेरि बन्द

साझाकुरा
२०८३ बैशाख ५, शनिबार ०८:५२

हेटौँडा- हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबारदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालन आएको उद्योगको उत्पादन फेरि बन्द भएको हो ।
उद्योगले तीन हजार मेट्रिक टन कोइला किन्न बोलपत्र आह्वान गरिसकेको छ । करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताएका छन् । कोइलाको परीक्षण नतिजाअनुसारमात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

यसअघि आर्थिक संकटका कारण धरासयी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाले माग राख्दै आएका छन् । संघीय सांसद् प्रकाश गौतमले उद्योगको समस्या समाधानका लागि केन्द्र सरकार र बागमती प्रदेश सरकारसँग पहल सुरु गरेका छन् । उनले आफू सांसद्मा निर्वाचित भएपछि प्रधानमन्त्री, उद्योगमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीसँग उद्योगको अवस्थाबारे छलफल गरेको जानकारीे दिए । प्रदेश सांसद्ले पनि उद्योग नियमित सञ्चालनको विषय उठाउँदै आएका छन् ।

गत भदौमा पाँच दिनमात्र सञ्चालन भएको उद्योगले दुई हजार पाँचसय टन क्लिड्ढर र ३० हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार गत चैत १३ गतेदेखि क्लिड्ढर उत्पादन पुनः सुरु गरिए पनि कच्चा पदार्थ (कोइला) को अभावमा उद्योग पुनः बन्द हुने अवस्थामा पुगेको छ । यहाँ पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आपूर्ति हुन सकेको छैन । उद्योग बन्द भएपनि कर्मचारीको तलब, भत्ता र सामान्य मर्मत खर्च जस्ता अनिवार्य दायित्वले आर्थिक भार थपिरहेको छ ।

हाल उद्योगमा ३१८ जना जनशक्ति कार्यरत् छन् । यसबाहेक नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने महसुल बक्यौता नै करिब ३० देखि ४० करोड रुपियाँ पुगिसकेको छ । बक्यौताकै कारण प्राधिकरणसँग निर्बाध विद्युत् आपूर्तिका लागि आग्रह गर्न सक्ने अवस्थासमेत नरहेको प्रशासनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*