महिला मिलनको रजत जयन्तीः ज्येष्ठ शेयर सदस्यहरु सम्मानित

साझाकुरा
२०८३ बैशाख ५, शनिबार ०८:५८

हेटौँडा- महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. ले विविध कार्यक्रम गरी रजत जयन्ती मनाएको छ ।स्थापनाकालदेखि अहिले सम्म संस्थाको नेतृत्वमा रहेकाहरुलाई रजत वर्षको अवसरमा सम्मान गरिएको छ । आमाको मुख हेर्ने औंशीको दिनमा आयोजित समापन कार्यक्रममा सहकारीका ज्येष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले महिलाको नेतृत्वमा संचालित यो सहकारीले महिलाहरुलाई सीप सिकाई आयआर्जनमा जोड्न सफल रहेको भन्दै सहकारीको विगतदेखि अहिले सम्मको नेतृत्वको प्रशंसा गरिन् ।

मन्त्रालयबाट आर्थिक सहयोग लिएर सहकारीमा आबद्ध महिलाहरुले पञ्चेबाजा तालिम लिएर स्वरोजगार हुन सफल भएकोमा मन्त्री पौडेलले बधाई दिएकी थिइन् ।पत्रकारिताका माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महायंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै, सहकारीमा कार्यरत जुनी वाईवालाई उत्कृष्ट कर्मचारीकारुपमा सम्मान गरिएको थियो ।

सहकारीले रजत वर्षको अवसरमा आयोजना गरेको विविध खेलकुद र हाजिरी जबाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । ५६ जना महिलाले एकसय रुपैयाँ बचत गरेर सुरु गरेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. मा हाल छहजार चारसय आठजना शेयर सदस्य छन् । सहकारीको २ कट्ठा १८ धुर जग्गामा आफ्नै भवन रहेको छ । सहकारीबाट कूल दुईहजार नौसय १२ जना शेयर सदस्यलाई ५५ करोड ४८ लाख ३८ हजार सातसय ६१ रुपैयाँ ऋण लगानी गरिएको छ । सहकारीको कूल ९१ करोड आर्थिक कारोबार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*