चित्लाङ–थानकोट सडक १४ दिन बन्द हुने

साझाकुरा
२०८३ जेष्ठ १३, बुधबार ११:१२

हेटौंडा- हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट मार्गमा निर्माण तथा सुधारका क्रममा सवारी आवागमन बन्द गरिने भएको छ । यो सडक खण्डमा यही जेठ १७ गतेदेखि ३० गतेसम्म १४ दिन सवारी आवागमन बन्द गरेर निर्माणकार्य अगाडि बढाउन लागिएको हो । सडक डिभिजन काठमाडौँमार्फत दुईवटा निर्माण कम्पनीले सडक ढलान, कालोपत्र र टेवा पर्खाल निर्माणलगायतका कार्य गर्ने भएका छन् । थानकोट–चित्लाङ सडक निर्माण तथा सुधारकार्य भइरहेकोमा यो सडक खण्डको भौगोलिक अवस्थाका कारण गुडिरहेका सवारी साधनले निर्माणकार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने देखिएकाले सवारी आवागमन पूर्णरुपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

सडक डिभिजन काठमाडौंका इन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार चित्लाङ–थानकोट सडकको १८ किलोमिटरमध्ये नौ किलोमिटर सडक सुधार हुन बाँकी छ । त्यसमध्ये दुईवटा निर्माण कम्पनीमार्फत् कालोपत्रे र ढलान गरी करिब साढे सात किलोमिटर सडक खण्डमा काम हुने जानकारी उनले दिए । टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौँतर्फ काम हुनेछ । निर्माण कम्पनी तामाङ कन्स्ट्रक्सन प्रालि, काठमाडौंमार्फत् तीन–चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने इन्जिनियर भण्डारीले बताए । हाल बजारमा बिटुमिनको अभाव रहेको र उपलब्ध हुनासाथ कालोपत्र गर्ने योजना रहेको उनको भनाइ छ । अर्को कम्पनीले ढलान र कालोपत्रेको ठेक्का पाएकोमा बिटुमिनकै अभावका कारण काम सुरुहुन

नसकेको बताइएको छ । ठेक्काको सम्झौताअवधि आगामी मङ्सिरसम्म रहेकाले अलकत्रा उपलब्ध हुनासाथ काम सुरु गरिने उनले बताए । इन्जिनियर भण्डारीका अनुसार सडकको मकवानपुरतर्फको अधिकांश भागमा कालोपत्रलगायतका काम भइसकेका छन् ।सडक निर्माण तथा सुधारका क्रममा काठमाडौँको पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्णरुपमा बन्द हुनेछ । यो अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकालाई सडक डिभिजन काठमाडौंले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*