४ नं. वडा कार्यालयद्वारा २० जना विपन्नलाई निःशुल्क पढाइने

साझाकुरा
२०८३ जेष्ठ १३, बुधबार ११:५०

हेटौंडा-हेटौंडा–४ नं. वडा कार्यालयद्वारा विद्यालयसँगको सहकार्यमा २० जना विपन्न विद्यार्थीलाई निःशुल्क पढाइने भएको छ । ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौंडा–४ बीच शैक्षिक वर्ष २०८३ देखि निरन्तर लागू हुनेगरी यस्तो सम्झौता भएको हो । सम्झौता पत्रमा वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, वडासचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माविका तर्फबाट प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा आधुनिक राष्ट्रिय माविका तर्फबाट प्रअ रामसागर गुरागाईंले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा छात्रवृत्तिका मापदण्डअन्तर्गत अतिविपन्न, दलित, सीमान्तकृत, द्वन्द्वपीडित, भूमिहीन, अभिभावकविहीन, सडक बालबालिका तथा विशेष प्राथमिकताका क्षेत्र अन्तर्गत विद्यालयले सञ्चालन गर्ने खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने छात्र÷ छात्रालाई समेटिएको छ ।

दुवै विद्यालयमा १०÷१० जना कक्षा ११ र १२ का विद्यार्थीलाई ६ महिनासम्मको मासिक सहयोग शुल्क तथा भर्ना शुल्क वडा कार्यालयबाट व्यहोर्ने र विद्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो कार्यक्रम यही शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याइने तथा प्रत्येक शैक्षिक वर्षको सुरुवातसँगै नवीकरण गरिने सम्झौतामा उल्लेख छ । आर्थिक अभावका कारण विद्यार्थी पढाइबाट वञ्चित नहून् भन्ने मुख्य उद्देश्यले पूर्णरुपमा निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको वडा नं. ४ का अध्यक्ष सिग्देलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*