हेटौंडामा ‘नवोदय नमुना संयुक्त राष्ट्रसंघ–२०८३’ आयोजना हुने
हेटौंडा- हेटौंडास्थित नवोदय नमुना संयुक्त राष्ट्रसंघको आयोजनामा यही जेठ १५, १६ र १७ गते ‘नवोदय मुन–२०८३’ आयोजना हुने भएको छ । कार्यक्रमबारे जानकारी दिँदै आयोजकले यसवर्ष करिब २०० विद्यार्थीको सहभागिता रहने जनाएको छ ।मोडेल युनाइटेड नेसन्स अर्थात् नमुना संयुक्त राष्ट्रसंघ एक शैक्षिक गतिविधि हो, जसमा विद्यार्थीले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विश्वव्यापी सामाजिक, आर्थिक, सुरक्षा तथा मानवअधिकारसँग सम्बन्धित विषयमा छलफल गर्नेछन् । कार्यक्रमले वास्तविक संयुक्त राष्ट्रसंघको प्रक्रियालाई अनुकरण गर्दै सहभागीलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नेतृत्व तथा नीति निर्माणबारे व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । कार्यक्रमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय निकायका समितिहरु गठन गरिएका छन् ।
विश्व स्वास्थ्य संगठन अन्तर्गत ‘विश्वव्यापी द्वन्द्वको अवस्थामा महामारी सामना गर्ने तयारी र स्वास्थ्य प्रणालीलाई सशक्त बनाउने’ विषयमा छलफल हुनेछ । ‘राज्य–प्रायोजित साइबर सञ्चालनको प्रतिकार’, ‘विश्व शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ताको नैतिक समावेशीकरण’, ‘बालबालिकाको अधिकार र समान पहुँच’, ‘डिजिटल युगमा श्रमको नैतिक अभ्यास’, ‘पर्यावरणीय सुशासन र दिगोपन’, तथा ‘युद्ध अपराध र मानवअधिकारसम्बन्धी जवाफदेहिता’ विषयमा बहस गरिनेछ ।
प्रतिनिधिसभाअन्तर्गत ‘नेपालमा लोकतान्त्रिक अधिकारको सुरक्षाका लागि समुदायको नेतृत्वमा शान्ति र वातावरण संरक्षणको सुदृढीकरण’ विषयमा छलफल हुने जनाइएको छ । आयोजककाअनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, सहकार्य, वादविवाद कला तथा व्यक्तित्व विकास गर्नु रहेको छ । तीन दिने कार्यक्रमअन्तर्गत् दोस्रो दिन साँझ ‘सोसल नाइट’ आयोजना गरिनेछ । साँझ ५ः३० बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यो कार्यक्रममा नृत्य, डिनर तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश गरिने जनाइएको छ ।
कार्यक्रममा मकवानपुर बाल विद्यासदन, ज्ञानोदय बालबाटिका आवासीय मावि, जेम्स स्कुल, गौरी शिखर, जनप्रिय तथा कमाने एकेडेमी लगायत विद्यालयको सहभागिता रहनेछ । चितवन, नवलपरासी, काठमाडौं, सर्लाही, कास्की र धरानबाट समेत विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रमका महासचिव वृष्टि जयसवालले मुन कार्यक्रमले विद्यार्थीमा विश्व दृष्टिकोण विकास गर्दै अन्तर्राष्ट्रिय मुद्दाप्रति सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।







