मकवानपुरमा ८ हजार बढी मतदाता थपिए
हेटौंडा,- मकवानपुरमा गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा भन्दा ८ हजार बढी मतदाता थपिएका छन् । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९ सय १९ जना मतदाता थिए । यसमा हाल ८ हजार ६ सय ४३ जना मतदाता थपिएको बागमती प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । मकवानपुरमा करिब ढेड महिनाको अवधिमा पुरुष मतदाता ४ हजार ५ सय १७ जना र महिला मतदाता ४ हजार १ सय २६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । १ असारदेखि १९ साउनसम्म नयाँ मतदाता थपिएका थिए । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भएसँगै नयाँ मतदाता नामावली कार्य रोकिएको छ । नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेमा २ सय ७२ जना मकवानपुर बाहेकका जिल्लाबासी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बाहिरी जिल्लाका दर्ता भएका २ सय ७२ जनाको नामवली सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा पठाइने जनाइएको छ ।







