कराँतेमा चितवन च्याम्पियन

साझाकुरा
२०८३ असार ७, आईतवार १२:४५

हेटौंडा-तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ चितवन जिल्ला पहिलोपटक टिम च्याम्पियन बनेको छ । भरतपुरस्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चितवनले समग्र उपाधि आफ्नो नाममा लेखाएको हो । चितवनले प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल ११ पदक जित्दै शीर्षस्थान हासिल गरेको प्रतियोगिता संयोजक रवि महर्जनले जानकारी दिए । बागमती प्रदेश खेलकुद प्रतियोगिताको कराँते विधामा चितवन टिम च्याम्पियन बनेको यो पहिलो अवसर हो । प्रतियोगितामा काठमाडौं दोस्रो स्थानमा रह्यो । काठमाडौंले ३ स्वर्ण र २ कास्य पदक जित्न सफल भयो । ललितपुरले २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी पुरुषतर्फ रामेछापका साहिल नेपाली तथा महिलातर्फ ललितपुरकी दिया पहरी घोषित भए ।

प्रतियोगितामा विभिन्न तौल समूह र विधाअन्तर्गत् कुल १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । समापन समारोहमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य कृष्णबहादुर नेपाल, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, सितोरियो कराँते बागमती प्रदेशका अध्यक्ष गगन लामा तथा प्रतियोगिता संयोजक रवि महर्जन लगायतले विजेता खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गरेका थिए । कराँते महासंघका अध्यक्ष लामाले नियमित अभ्यास र यस्ता प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले हाल देशका ६ वटा प्रदेशमा विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेका जानकारी दिँदै खेलकुदमार्फत् राष्ट्रिय प्रतिभा उत्पादनमा यस्ता प्रतियोगिताको योगदान उल्लेखनीय रहेको बताए । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कार्कीले चितवनको खेलक्षेत्र सकारात्मक दिशामा अघि बढिरहेको बताए । आफूले समितिको नेतृत्व सम्हालेयता जिल्लाको खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा प्रतियोगितामा सहभागिता वृद्धि गर्न विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले त्यसको प्रतिफल स्वरुप चितवनले राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्न थालेको बताए ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवनले यसअघि पुरुष क्रिकेट र एथलेटिक्समा च्याम्पियन बन्न सफल भइसकेको छ भने महिला क्रिकेटतर्फ उपविजेताको उपाधि जितेको छ । कराँतेमा प्राप्त पछिल्लो सफलतासँगै चितवनले प्रतियोगितामा आफ्नो पदक यात्रालाई थप मजबुत बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*