बारिष्टा तालिम सम्पन्न

साझाकुरा
२०८३ असार ६, शनिबार १५:३७

हेटौंडा- बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् र भीमफेदी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको ६५ दिने बारिस्टा सीप विकास तालिम सम्पन्न भएको छ । गत फागुन २५ गतेदेखि सञ्चालन भएको ३९० घण्टे तालिम असार ३ गते समापन गरिएको हो । समापन कार्यक्रममा प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्का कार्यकारी निर्देशक शान्ति लामाले लक्षित वर्गका सहभागीको सक्रिय उपस्थितिले तालिमको उद्देश्य सफल भएको बताइन् । उनले सीपमूलक तालिमले स्वरोजगार सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीमा अवसर प्रदान गर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘यो तालिमबाट प्राप्त प्रमाणपत्रले स्वदेश तथा विदेश दुवै ठाउँमा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्छ । सहभागीले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सक्नेछन् ।’

तालिममा सहभागी सानुमाया मोक्तानले तालिमले आफ्नो जीवनमा नयाँ अवसर थपेको बताइन् । ‘बारिस्टा भनेको के हो ? भन्ने समेत थाहा थिएन । अहिले यससम्बन्धी काम गर्न सक्ने भएकी छु । निजी संस्थामा यस्तो तालिम लिन धेरै
रकम खर्च गर्नुपथ्र्यो तर, गाउँपालिकाले लगानी गरेर हामीलाई सीप र स्वरोजगारको आधार दिएको छ,’ उनले खुसी व्यक्त गरिन् । तालिमका प्रशिक्षक रुपेश खड्काले अन्य स्थानको तुलनामा भीमफेदीका सहभागीको उत्साह, अनुशासन र सहभागिता उत्कृष्ट रहेको बताए । उनले सिकेको सीपलाई व्यवहारमा लागू गर्नसके रोजगार र व्यवसायका पर्याप्त अवसर रहेको उल्लेख गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले तीनै तहका सरकार युवालाई सीप विकासमार्फत् आत्मनिर्भर बनाउने अभियानमा रहेको बताए । उनले केवल शैक्षिक डिग्री हासिल गरेरमात्र नपुग्ने र व्यवहारिक सीपको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै प्रदेश सरकारसँगको साझेदारीमा बारिस्टा तालिम सञ्चालन गरिएको जानकारी दिए । अध्यक्ष लामाले सहभागीलाई सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्दै स्थानीय स्रोत, साधन र पूँजीको सदुपयोग गर्न सुझाव दिए । उनले व्यवसाय सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋणसमेत उपलब्ध हुने जानकारी गराउँदै बजारको अवस्था र सम्भावनाको अध्ययन गरेर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘६५ दिने तालिममार्फत सहभागीले लेभल १ पूरा गर्नुभएको छ । आगामी दिनमा थप उच्चस्तरीय तालिमका लागि पनि पहल गरिनेछ । सिकेको सीपले स्वदेशमा मात्र होइन, वैदेशिक रोजगारीमा समेत राम्रो अवसर दिलाउन सक्छ ।’ कार्यक्रममा सहभागीले तालिम अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस्ता सीपमूलक कार्यक्रमले बेरोजगार युवालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । समापन कार्यक्रमको सञ्चालन भीमफेदी गाउँपालिकाकी अमृता गौतमले गरेकी थिइन् । कार्यक्रममार्फत तालिम सफलतापूर्वक पूरा गरेका सहभागीलाई प्रमाणपत्र प्रदानगरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*