हेटौंडा अस्पताल उद्घाटनमा राष्ट्रपति आउने तय
हेटौंडा-राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन चार वर्षपछि मंगलबार हेटौंडा आउने भएकी छन् । प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रिपति भण्डारी आउने तय भएको प्रतिष्ठानले जानकारी दिएको छ । राष्ट्रिपति भण्डारी औपचारिक कार्यक्रमका लागि चार वर्षअघि मकवानपुर आएकी थिइन् । १० माघ २०७५ मा भण्डारीले मकवानपुरगढी दरबारमा २५६ औं विजय उत्सवको उद्घाटन गरेकी थिइन् । त्यस यता भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन आएकी थिइनन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रपति भण्डारी आउने कार्यक्रमको तयारी तीव्र पारिएको जानकारी दिएको थियो ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पु¥याइएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिए । प्रतिष्ठानका उपकुलपति विश्वराज जेशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले सबैखालका तयारी तिव्र गरिएको र कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने बताए । ९ फागुन मंगलबार बिहान उनी हेटौंडा आइपुग्ने जनाइएको छ । दिउसो औपचारिक कार्यक्रम समापन भएपछि उनी पुनः काठमाडौं फर्किने भएकी छन् । प्रतिष्ठानले ४३ करोड रुपैयाँ लागतमा अस्पतालको नवनिर्मित भवन निर्माण गरेको थियो । भवन निर्माणसँगै अस्पताललाई पुरानो भवनबाट सारिएको थियो ।
नयाँ भवन निर्माण भएसँगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरु र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरिय बनाउँदै लगेको प्रसाईले बताए । अस्पतालको सेवालाई प्रभावकारी बनाउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालका लागि कार्यालय सहयोगीदेखि डाक्टर सम्मका जनशक्ति उपलब्ध गराउने, उपचारका लागि विभिन्न प्रविधिहरु जडान गर्नेलगायतका काम गर्दै आएको छ ।







