सर्वसुलभ र गुणस्तरीय सेवा दिन राष्ट्रपतिको आग्रह

हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन
साझाकुरा
२०७९ फाल्गुन १०, बुधबार १२:५०

हेटौंडा- राष्ट्रपति विद्यादेवी भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले दिने सेवा सर्वसुलभ र गुणस्तरिय हुनुपर्ने बताएकी छन् । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीले स्वदेशमा नै गुणस्तरीय स्वास्थ्य सेवा र सर्वसुलभ ढंगले प्रतिष्ठानले सेवा दिनेमा विश्वास व्यक्त गरिन् । जननेता मदन भण्डारीको नामबाट स्थापित अस्पतालले स्वास्थ्य उपचारमा राम्रो काम गरेको उनले बताइन् । जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने पनि भण्डारीले बताइन् ।

नले स्वस्थ नागरिकबाट मात्रै स्वस्थ मुलुक निर्माण हुनसक्ने भन्दै आयुर्वेद र वैकल्पिक चिकित्सासँगै स्वास्थ्य बिमालाई पनि प्रभावकारिरुपमा अगाडि बढाउनुपर्ने बताइन् । भण्डारीले संघीयताको अवधारणअनुसार सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल हुनुपर्ने बताइन् । जनस्वास्थ्य कार्यक्रमलाई जनताको घरदैलोसम्म पु¥याउन राष्ट्रपति भण्डारीको आग्रह थियो । पछिल्लो समय सर्ने तथा नसर्ने रोगहरु फैलँदै गएको विषयमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन् ।

आधुनिक समयमा बिस्तारहुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तीव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिँदै जानु चिन्ताको विषय भएको
राष्ट्रपति भण्डारीले बताइन् । उनले विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन तीनै तहका सरकारले उचित ध्यान दिनुपर्नेमा जोड दिइन् ।

‘जनताको स्वास्थ्यका निम्ति आधारभूत एवम् विशेषज्ञ सेवा र सुविधाहरु सहजै उपलब्ध गराउन सकिनेगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवम् हेटौंडा अस्पतालको भवन निर्माण सम्पन्न हुनु खुशि र सन्तोषको विषय हो ।’ राष्ट्रपति भण्डारीले भनिन्– ‘नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित गरिएका स्वास्थ्यसम्बन्धी हक प्राप्तिमा प्रतिष्ठानले सघाउ पु¥याउनेमा विश्वस्थ छु ।’ संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकअन्तर्गत् गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै उनले रोग नलाग्नुमात्र स्वास्थ्य नभएको बताइन् ।

जनस्वास्थ्य कार्यक्रमलाई योजनाबद्ध ढंगले नागरिकको घरदैलोमा पु¥याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको ठूलो भूमिका रहने बताइन् । स्वास्थ्य सेवासँगै अनुसन्धानको क्षेत्रमा नविन कार्य गर्न सकेको खण्डमा जननेता मदन भण्डारीको नाममा स्थापित प्रतिष्ठानको उद्देश्यले सार्थकता पाउने उनको भनाइ छ ।
भवन उद्घाटनपश्चात् राष्ट्रपति भण्डारीले अस्पतालको निरीक्षणसमेत गरेकी थिइन् । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, प्रदेशका मन्त्रीहरु, सांसद्हरु, प्रदेशका सचिवहरु, कर्मचारीहरु लगायतको आतिथ्यता थियो ।

पुरानो भवनमा साघुरो रुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा नयाँ भवनबाट जनशक्ति समेत थप गरेर उपचार सेवालाई प्रभावकारीरुपमा अगाडि बढाइएको छ । पहिले रिफर अस्पतालको रुपमा परिचित हेटौंडा अस्पतालमा पछिल्लो समय धेरै प्रकारको रोगको बिरामीको उपचारसँगै जटिल प्रकृतिका नियमितरुपमा अप्रेसन गरिँदै आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को ७० शैयाको नयाँ भवनको ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौँडा अस्पतालको विकासले नागरिकलाई स्वास्थ्य सेवामा गुणस्तरीय सेवा दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन् । नयाँ भवनमा ७० शैया सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा दुई सय शैया नियमित सञ्चालन हुने भएको छ ।अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमर्जेन्सी शैया संख्या ८ बाट २४ वटामा बृद्धि भएको छ । अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत् रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जनासमेत गरेर दुई सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत् रहेको प्रतिष्ठानले जनाएको छ । हाल अस्पतालमा १७ बेडको आईसीयू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलासिस सेवा सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*