बालश्रम शोषण नहटेको दाबी
हेटौंडा-मकवानपुरमा बालबालिकाको अधिकार कुण्ठित हुने गरी श्रम शोषण भइरहेकोतर्फ सरकारी निकायले चासो नदिएको दाबी गरिएको छ ।कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)द्वारा हेटौंडामा आयोजना गरेको बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारका मुद्दाहरुको सम्बन्धमा स्थानीय सञ्चारकर्मीहरु र स्थानीय सरकारबीच छलफल कार्यक्रमका सहभागीहरुले बालबालिकाको अवस्था परिवर्तनमा स्थानीय तह गम्भीर भएर नलागेको जनाइएको हो ।
बालबालिकाको संरक्षणको दायित्व बोकेका स्थानीय तहहरुले उनीहरुको अधिकार प्राप्तिको अवस्था र आधारभूत आवश्यकतामा कुनै चासो नदिएको बताइएको हो । स्थानीय तहहरुले बालबालिकाको
संरक्षण र सम्बद्र्धनमा चासो देखाएको जस्तो गरेपनि नीतिगतरुपमा योजना बनाएर कार्यान्वयनमा लान नसकेको कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।बाल संरक्षण, मानव बेचविखन तथा ओसारपसारबिरुद्ध बनेका कानुनी प्रावधानहरु पूर्णरुपमा कार्यन्वयन नहुँदा अपेक्षित प्रगति हासिल हुन नसकेको सरोकारवालाहरुले बताएका हुन् । हेटौंडाका सवारी साधन मर्मत केन्द्र, होटल तथा
रेष्टुरेन्टहरुमा बालबालिकामाथि श्रम शोषण भइरहेकोतर्फ स्थानीय तहलाई सचेत गराइएको छ ।
समस्यामा परेकाहरुको पहिचान गरेर समस्याबाट उद्दार गरेपछि व्यवस्थापन तथा दीगो जीवनको लागि पहल गर्ने निकाय नहुँदा पीडित प्रभावितहरुको अवस्थामा सुधार आउन नसकेको बताइएको हो ।
कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारबिरुद्ध भएमा विद्यमान संघीय र स्थानीय कानूनहरु र यी मुद्दाहरुमा स्थानीयस्तरमा विद्यमान चुनौतीहरुका बारेमा छलफल गर्ने स्थानीय सञ्चार माध्यममा बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित समाचारको प्रवृत्ति, पीडित प्रभावितमैत्री मिडिया रिपोर्टिङ र विद्यमान चुनौतीहरुबारे छलफल गरिएको थियो ।
स्थानीय सरकारले बालबालिकाहरुलाई बालश्रमबाट उद्दार गरेर पनि व्यवस्थापनमा चासो नदिएका कारण बालबालिकाको अवस्था सुधार हुन नसकेको सहभागीहरुले बताए । बालबालिकाहरुको सवालमा रिर्पोटिङ गर्दा आमसञ्चारले गोपनीयताको ख्याल राख्दै आचारसंहिताको पालना गरेपनि सामाजिक सञ्जालले गोपनीयताको ख्याल नगर्दा आफूहरुले आक्षेप खेप्नुपरेको पत्रकारहरुले बताएका थिए ।
मानव बेचबिखन तथा ओसारपसारबाट उद्दार गरिएकाहरुलाई दीगो व्यवस्थापन गर्न उनीहरुको आयआर्जन तथा सीप विकास गरी जीविका निर्वाहको आधार तय गर्न सकेमात्रै पुनस्र्थापनाको चरणमा टेवा पुग्ने भएकाले यसतर्फ ध्यान दिन पत्रकारहरुले सुझावसमेत दिएका छन् ।
कार्यक्रममा सेलर्डका फिल्ड प्रमुख जगन्नाथ सुवेदी, हेटौंडा उपमहानगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछाने र पत्रकार सरिता दाहालले सहजीकरण गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले मंसिरयता मात्रै बालश्रमबाट ७ जना बालबालिकालाई परिवारमा पुनःस्थापना गरेको तर, उनीहरुमध्ये केही फेरि श्रममा फर्केको बताइन् ।कार्यक्रममा सेलर्डका सुवेदीले मानव बेचविखनसम्बन्धी कानुनमा बेश्यावृत्तिको शब्द प्रयोग गरिनु हरेक व्यक्तिमा भएको आत्मसम्मानप्रति चोट पु¥याएको बताए । व्यक्तिको आत्मासम्मान र गोपनीयताको सवालमा सधैं
ध्यान दिनुपर्ने उनले बताए । नेपालका बालगृहमा बालबालिकाहरु असुरक्षित हुने गरेको सहभागीहरुले बताए ।
यसैगरी, संचारिका समूह नेपालकी बागमती प्रदेश अध्यक्ष पत्रकार दाहालले मानव बेचविखन, ओसारपसार तथा बालबालिकाको अधिकार उल्लङ्घनका विषयमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताभित्र रहेर प्रसारण, प्रकाशन गर्नुपर्ने, बाल अधिकारको उल्लङ्घन र बालबालिको हीत प्रतिकूल नहुने गरी सूचना प्रकाशन गर्नुपर्ने बताइन् ।







