डढेलो नियन्त्रण अभियानमै सीमित, कमजोर पूर्वतयारी

साझाकुरा
२०७९ चैत्र १, बुधबार १०:३६

हेटौंडा- हावाहुरीको मौसम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । वर्षेनी डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । यो बर्ष हिउँदे बर्षा नभएकै कारण वनजंगलमा बढी डढेलो लाग्ने सम्भावना रहेको छ । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ । चैत सुरु भएसँगै सुक्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने गरेका छन् । डढेलोका कारण मकवानपुरमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको मृत्यु हुने गरेको छ ।

गत आर्थिक वर्षमा जिल्लाका थुप्रै सामुदायिक वन क्षेत्रमा लागेको डढेलोबाट धेरै क्षति पुगेको थियो । मकवानपुरमा मात्रै होइन बागमती प्रदेशका १३ जिल्लासहित देशैभरि सुक्खायाममा लाग्ने वन डढेलोले रुख तथा बोटविरुवा, जंगली जनावरको विनाश हुनुका साथै वातावरण पनि प्रदूषित हुने गरेको छ । गैरकानुनी रुपमा वनपैदावारको क्षति हुनेगरी डढेलो लगाएको पाइएपछि हेटौंडामा ३ जनालाई गत साता जरिवाना तिराइएको छ । हेटौंडामा सामुदायिक वन उपभोक्ता समूहको वनपैदावारको क्षति हुनेगरी डढेलो लगाएर भागेका तीन जनालाई नियन्त्रणमा लिई जरिवाना तिराइएको हो । जंगलमा डढेलो लगाएकै कारण जरिवाना तिराइएको घटना यो पहिलो हुनसक्छ । हेटौंडा–१९ नेवारपानीस्थित कालिका हरियाली सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा तीन जनाले डढेलो लगाएका थिए ।

डढेलो लगाएर भागेको पाइएपछि डिभिजन वन कार्यालय राप्ती मनहरी र इलाका प्रहरी कार्यालय नेवारपानीको समन्वयमा उनीहरुलाई वन समूहको कार्यालयमा झिकाई ९० हजार जरिबाना तिराइएको हो । वनमा आगजनी गर्ने र डढेलो लगाउनेलाई यसपटक सख्त कारबाही गर्ने र डढेलो नियन्त्रणमा जनसहभागिताको विकास गर्ने नीति डिभिजन वन कार्यालय राप्ती मनहरीले लिएको छ ।मकवानपुरमा डढेलो लगाउनेलाई जरिवाना तिराइएको घटना कमै हुने गरेका छन् । डढेलोबाट काठ मात्र हैन, गत आर्थिक वर्षमा हेटौँडा उपमहानरगरपालिका–१, भैरवडाँडास्थित जंगलमा डढेलो लाग्दा खानेपानीको पाइप जलेर नष्ट भएको थियो । पाइप जल्दा स्थानीयले लामो समयसम्म खानेपानी खान पाएका थिएनन् । तर, स्थानीयले दुःख मात्रै पाए, दोषी उम्किए । डिभिजन वनले धेरै वर्षदेखि डढेलो लगाउनेको पहिचान समेत गर्न सकेको छैन भने दोषीमाथि कारबाही हुने सम्भावना न्यून छ ।

डिभिजन वनका सूचना अधिकारी सहायक वन अधिकृत दिपक अधिकारीले डढेलो नियन्त्रण र रोकथामका लागि समुदायस्तरमा जनचेतना जगाउने काम मात्रै भएको बताएका छन् । मकवानपुरमा लागेका अधिकांश डढेलो ‘नियोजित’ भएको अधिकारीले बताए । प्राकृतिक कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अधिकारीको भनाइ छ ।
अधिकारीका अनुसार डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि यसलाई नियन्त्रण र रोकथाम गर्न सकिएको छैन । डढेलो लगाउनेलाई ६० हजार रुपैयाँ
जरिवाना, तीन वर्ष जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ । उनले डढेलो लगाउनेको पहिचान हुन नसकेको र पहिचान भएमा प्रमाण पुग्न नसक्ने भएकाले दोषी उम्किँदै आइरहेको स्वीकारे ।

हावाहुरीको मौसम सुरु भएसँगै चैत महिनाबाट वन क्षेत्रमा डढेलो लाग्ने क्रम विस्तारै बढ्ने निश्चित छ । हरेक वर्ष मकवानपुरका वन क्षेत्रमा डढेलो लाग्ने गरेका छन् । सुख्खा यामसँगै जिल्लास्थित हेटौँडा उपमहानगरपालिका, बकैया, बागमती, मकवानपुरगढी, भीमफेदी लगायतको स्थानीय तहका वन–जंगलमा डढेलो लाग्ने क्रम बढ्ने आकंलन डिभिजन वन कार्यालय मकवानपुरको छ ।

विगतका वर्षमा भीमफेदी गाउँपालिकामा मात्रै ११ वटा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको थियो । जसबाट ३ सय ६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको डिभिजन वन मकवानपुरले जानकारी दिएको छ । मकवानपुरगढीको १९ वटा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोबाट ४ सय ७६ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो । हेटौँडा उपमहानगरपालिकाको २९ वटा सामुदायिक वन क्षेत्रमा लागेको डढेलोबाट दुई हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकारीले जानकारी दिए । विगतमा जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ३० वटा सामुदायिक वनमा लागेको डढेलोबाट एक हजार ६ सय २० हेक्टर क्षेत्रफलमा क्षति र सब–डिभिजन वन कार्यालय छतिवन अन्तर्गत् ६ सय ४३ थानको सात हजार १ सय ४० क्यूफिट काठमा डेढेलोका कारण आगलागी हुँदा नोक्सानी भएको कार्यालयले जनाएको छ ।

डढेलोको नियन्त्रण र रोकथाममा पनि डिभिजन तथा सव डिभिजन वन कार्यालयहरु सधैँ असफल हुँदै आएका छन् । डिभिजन वन मकवानपुरले हरेक वर्ष सचेतना कार्यक्रम चलाए पनि नियन्त्रण हुन नसकेको कार्यालयका सूचना अधिकारी अधिकारी स्वीकार्छन् । अधिकारीका अनुसार अभियान नै चलाएर पनि सचेतना जगाउने कार्य डिभिजनले
गरेको छ । सुक्खायाम सुरु भएसँगै प्रदेशको विभिन्न जिल्लामा रहेको वन क्षेत्रमा डढेलो लाग्न थालेको बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बागमती प्रदेशको कुल क्षेत्रफलको ५९ दशमलव २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८ सय ४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र समेत रहेको बागमती प्रदेशका यी वन जंगलमा लोपोन्मुख जंगली जनावर पनि डढेलोका कारण संकटमा परिरहेका छन् । वनमा लाग्ने डढेलोले रुख तथा वोटविरुवाको मात्रै क्षति हुँदैन लोपोन्मुख जंगली जनावरको पनि क्षति हुने गरेको छ ।

वातावरण प्रदूषणले सास फेर्न समस्या मात्रै होइन गम्भीर प्रकारका रोग समेत लाग्ने गर्दछ । तर, गम्भीर समस्याको रुपमा वर्षेनि निम्तने वन डढेलो नियन्त्रणका लागि मकवानपुरका सरोकारवाला निकाय र बागमती प्रदेश सरकारले ठोस रुपमा पूर्वतयारी गरेको पाइँदैन । सुक्खायाम लागेर वन डढेलो समेत सुरु भइसक्दा समेत डढेलो नियन्त्रणका लागि प्रदेश सरकारको आवश्यक पूर्वतयारी कमजोर देखिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*