मकवानपुरगढीमा शिक्षकका सन्तान सामुदायिक विद्यालयमै
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ मा सामुदायिक विद्यालय सुधारका लागि नयाँ अभियान सुरु भएको छ । यस अभियानको केन्द्रमा शिक्षक स्वयं रहेका छन् ।वडाभित्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाले अब आफ्ना नानीबाबुलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमै पढाउने सामूहिक प्रतिबद्धता जनाएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने लक्ष्यसहित गरिएको यो निर्णयले स्थानीय शैक्षिकक्षेत्रमा नयाँ आशा जगाएको छ । वडाअध्यक्ष दिपेश दाहालको अध्यक्षतामा आयोजित सामूहिक बैठकमा यो निर्णय गरिएको हो । ‘म बनाउँछु मेरो विद्यालय’ भन्ने नारासहित यस वडाभित्र रहेका सातवटै सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने लिखित प्रतिबद्धता जनाए ।
यो प्रतिबद्धतामा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर कार्की, सरस्वती आधारभूत विद्यालय चतुर्भुज पौडेल, अमरसिंह आधारभूत विद्यालयका राजु संजेल, आधारभूत विद्यालयका प्रल्हाद घिमिरे, ज्योति आधारभूत विद्यालय करुणा विष्ट, मञ्जुश्री आधारभूत विद्यालयका कृष्णप्रसाद आचार्य तथा उज्वल आधारभूत विद्यालयका इन्द्रबहादुर बस्नेत सहभागी भए ।बैठकमा केवल प्रतिबद्धता मात्र जनाइएन । सामुदायिक विद्यालयको शैक्षिक सुधार, आगामी रणनीति र विद्यालयको स्तर उकास्ने उपायबारे पनि विस्तृत छलफल भयो ।
बैठकमा वडाअध्यक्ष दाहालले स्थानीय सरकार सामुदायिक विद्यालयको शैक्षिक सुधारप्रति सधैं प्रतिबद्धरहेको बताए । उनकाअनुसार सामुदायिक विद्यालयको स्तर उकास्न शिक्षक, अभिभावक र स्थानीय
सरकार एकै ठाउँमा उभिनु आवश्यक छ । बैठकमा वडासचिव फणिन्द्र बीसी, वडासदस्य सुकराम थिङ, अर्जुनबहादुर रुम्बा, नन्दकुमारी विक, चन्द्रकुमारी हुमागाईं, शिक्षा समिति सदस्य बलराम फुयाँल, तेलीमाया घलान, कमलप्रसाद संजेललगायत विद्यालय व्यवस्थापन समिति पदाधिकारी र शिक्षक प्रतिनिधिको उपस्थिति थियो ।गतवर्षको एसईई परीक्षामा जिल्ला प्रथम हुन सफल शारदा माध्यमिक विद्यालयको उपलब्धिलाई आधार मानेर वडा नम्बर ५ का अन्य विद्यालयलाई पनि अग्रणी शैक्षिक संस्थाकारुपमा विकास गर्ने लक्ष्य लिइएको छ । वडाअध्यक्ष दाहालले स्थानीय सरकार सामुदायिक विद्यालयको स्तरउन्नतिका लागि निरन्तर लागिरहने बताए ।







