दक्षजनशक्ति उत्पादन प्राथमिकतामाः मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८३ बैशाख १७, बिहीबार ११:०८

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वास्थ्यक्षेत्रमा आवश्यक दक्षजनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाका कुलपति समेत रहेका मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको हेटौंडामा भएको १० औँ सभामा प्रतिष्ठानले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताएका हुन् । उनले मानव स्वास्थ्यसँग जोडिएको बागमती प्रदेशको गौरवको योजना भएको भन्दै प्रतिष्ठानले दक्षप्राविधिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानले कानुन नियमलाई व्यवस्थित गर्ने र मर्यादित गरेर सञ्चालन गर्नुपर्छ, मुख्यमन्त्री बानियाँले भने, ‘संघसँग कानुन नबाझिने गरी बनाउनु आवश्यक छ ।’

उनले हेटौंडा अस्पतालमा अभ्यास गर्दा आवश्यक उपकरण खरिदमा विवादरहितरुपमा खरिदप्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै कसैको दबाब र प्रभावमा आएर गुणस्तरहीन उपकरण ल्याएर बदनाम हुने कार्य नगर्न निर्देशन दिए । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री किरण थापाले प्रतिष्ठानले दक्षजनशिक्त उत्पादनलाई जोड दिँदै आएको बताए । प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत, डीन डा. इन्दिरा अधिकारी पौडेलले शैक्षिक कार्यक्रम र शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले प्रतिष्ठानका बारेमा जानकारी गराएका थिए ।

सभामा वार्षिक प्रतिवेदन स्वीकृत सम्बन्धमा, आर्थिक वर्ष २०८३÷८४ को नीति, योजना र कार्यक्रम, आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट, हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको नियमावली, २०७७ संशोधन, प्रतिष्ठानको कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, २०७७ संशोधन, प्रतिष्ठानको शिक्षक सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, २०७७ संशोधन, प्रतिष्ठानका पदाधिकारी व्यवस्थापन तथा सेवा, सुविधासम्बन्धी नियमावली, २०७७ संशोधनका सम्बन्धमा छलफल गरी पारित गरिएको रजिस्ट्रार भीमसागर गुरागाईंले जानकारी दिए । प्रतिष्ठानको आन्तरिक लेखापरीक्षण, प्रतिष्ठानको परिमार्जित संगठन संरचना र प्रतिष्ठानको प्रस्तावित नयाँ दुईसय शैंयाको विशिष्टीकृत शिक्षण अस्पतालबारे छलफल गरी निर्णय भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*