मनहरीमा बस दुर्घटना १४ जना घाइते, चालक गम्भीर

साझाकुरा
२०७९ चैत्र ३, शुक्रबार ११:४०

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा विहीबार दिउँसो भएको बस दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । चितवनबाट वीरगञ्जका लागि छुटेको ना. ७ ख १३२६ नम्बरको यात्रुवाहक बस मनहरी–६, स्थित डिपार्टमा दुर्घटना भएको थियो । बस पूर्व–पश्चिम राजमार्ग छोडेर करिब २५ मिटर तल खेतमा खसेको थियो । खेतमा बसको अगाडि भाग गाडिन पुग्दा अगाडि बसेका यात्रुहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बस चालक उदयपुरको कटारी नगरपालिका बस्ने अन्दाजी ३३ वर्षीय समिन मिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बसमा सवार १४ जना घाइते भएको जानकारी दिए ।

घाइते सबैलाई मनहरीबाट सिधै उपचारका लागि चितवन पु¥याएको थियो । समाचार तयार पर्दासम्म घाइते भएका १४ जनामध्ये १३ जनाको नाम खुलेको डीएसपी कार्कीले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएकामध्ये सबैभन्दा धेरै मकवानपुरका रहेका छन् । उक्त दुर्घटनामा परेर मकवानपुरका ७ जना घाइते भएका छन् ।यसैगरी, उदयपुरका एक जना, चितवन र बाराका दुई÷दुई जना र खोटाङका एक जना रहेका छन् । घाइते हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया रोशनी बर्तौला, मनहरी–८ का २४ वर्षीय अर्जुन नेपाली, ८ नम्बर वडाकै २२ वर्षीया सरिता परियार, राक्सिराङ गाउँपालिका–६ बस्ने ७० वर्षीया फूलमाया तमाङ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीया रिता थापा घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी कार्कीले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २९ वर्षीय राकेस प्याकुरेल, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ७५ वर्षीया धनदेवी थापाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । घाइते भएका चितवनको राप्ती नगरपालिका वडा नम्वर १ बस्ने ४१ वर्षीया लक्ष्मी घलान, राप्ती–२ बस्ने ३६ वर्षीया बबिता लामा, खोटाङको मजुवागढी गाउँपालिका वडा नम्वर २ बस्ने ३२ वर्षीय दिपेश राई, बाराको कलैया नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय रामपुकार साह कानु, बाराकै फेटा गाउँपालिका वडा नम्वर ४ बस्ने ५६ वर्षीय बोधनाथ राउत कुर्मीको अवस्था पनि मध्यम रहेको डीएसपी कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*