भैरबडाँडा सावउसको साधारणसभा
हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित भैरबडाँडा सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य भारती पाठकले वनलाई अब काठ र दाउरामात्र नभएर अन्य उत्पादनसंग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । ‘वनबाट देख्न सकिने काठका गोलाईमात्र होइन, देख्न नसकिने प्राणवायु अक्सिजन उत्पादन भइरहेको कुरालाई महत्व दिनुपर्ने हुन्छ’, सांसद् पाठकले अब त्यसका अलावा वनबाट अन्य नगदे बालीहरु पनि उत्पादन गर्नतर्फ ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रमका विशेष अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले सामुदायिक वनको संरक्षणमा त्यस वनका उपभोक्तामात्र नभएर वरपर रहेका सबै नागरिकको दायित्व रहेको बताए । ‘वन समितिका पदाधिकारीले मात्र वन जोगाउन असम्भव छ’, अध्यक्ष न्यौपानेले वन जोगाउन वन वरपरका सबै नागरिकको उत्तिकै दायित्व रहेको बताए । पछिल्लो समय वनमा डँडेलो फैलिरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष न्यौपानेले वनमा डँडेलो लगाउँदा घाँस पलाउने र विषालु किराहरु मर्ने जस्ता भ्रम त्याग्न अनुरोध गरे ।
कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत बच्चुराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष आरती पाठक, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य ईश्वरी रसाइली, समाजसेवी सिद्धिलाल श्रेष्ठ, डाङडुङे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







