अटो चालकहरुलाई ट्राफिक सचेतना र वित्तीय साक्षरता
हेटौंडा-थाहा नगरपालिकाभित्र सञ्चालित अटोका चालकहरुलाई ट्राफिक सचेतना र वित्तीय साक्षरता तालिम दिइएको छ । थाहा नगरस्थित महालक्ष्मी विकास बैंकले अटो चालकहरुलाइ ट्राफिक सचेतना कक्षासहित वित्तीय साक्षरता तालिम प्रदान गरेको हो । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारणलगायतका विषयमा सामग्री समावेश गरी नगरभित्रका अटो चालकहरुलाई ट्राफिक सचेतना कक्षा दिइएको हो । ईलाका प्रहरी कार्यालय पालुङको ट्राफिक शाखामा कार्यरत ट्राफिक प्रहरी कुमार मैनाली र ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक उमेश प्रसाद कोइरीले ट्राफिक सचेतना सम्बन्धि सहजीकरण गरेका थिए ।
नेपालमा प्रतिदिन सरदर ७ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गरेको जनाइएको छ । महालक्ष्मी विकास बैंक पालुङ शाखाका शाखा प्रमुख नितेसराज पाण्डेको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका कर्मचारी सरद हमालले कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए । थाहा नगरका उपप्रमुख गोपालीले प्रविधिको उच्चतम प्रयोग गर्न अझैं पनि सहर र शिक्षित क्षेत्रमा हिचकिचावट रहेको देखिएको बताए । उनले तलब बैंक खातामा जम्मा भए पनि एकैपटक रकम निकालेर खल्तीमा राख्ने बानी कर्मचारी वृत्तमा विद्यमान रहेको र जवसम्म कर्मचारी नै नगदरहित कारोवार गर्न प्रेरित हुँदैनन् जतिबेलासम्म वित्तीय साक्षरताले सार्थकता नपाउने अवस्था रहेको बताए ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी जस्ता विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको अबसरमा पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सहभागीलाई सिकाईएको थियो । महालक्ष्मी विकास बैंक बागमती प्रदेशका प्रमुख शम्भुप्रसाद पराजुलीले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई हरेक पालिकामा पुग्नुपर्ने नीति लिएपछि बैंकिङ पहुँच सर्वसाधारण सम्म सहज भएको बताए । शतप्रतिशत वित्तीय पहुँच भने पुग्न नसकेको बताउँदै पराजुलीले सहर केन्द्रित वित्तीय पहुँच संघीयता कार्यान्वयनसँगै गाउँबस्तीहरुमा पुगेको जनाए । सामाजिक सुरक्षा भत्तादेखि लिएर कर्मचारीको तलब भत्तासम्म बैंकिङ प्रणालीमार्फत हुनु त्यसको सकारात्मक पक्ष भएको उनको भनाई छ । वित्तीय पहुँचको विस्तारसँगै बैंक तथा वित्तीय संस्थाहरुको विस्तार भएको र जसले गर्दा अर्थतन्त्र चलायमान गराउन मद्दत गरेको मान्न सकिनेमा उनले जोड दिए ।
कार्यक्रममा महालक्ष्मी विकास बैंकका पालुङ शाखाका शाखा प्रबन्धक नितेशराज पाण्डेले स्थानीय निकायका जनप्रतिनिधिमार्फत वित्तीय क्षेत्रका जानकारहरुको राय सल्लाह सुझावमा स्थानीय स्तरमा नै वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । कार्यक्रममा बजार व्यवस्थापन समिति शिखरकोटका अध्यक्ष मनोज रायमाझी, युवा समाजसेवी यादव जंग रायमाझी, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर ३ का सदस्य कृष्णकुमार कार्की, ४ का सदस्य सुन्दरराज केसी, थाहा नगर अटो व्यावसायी संघका सचिव किरण गोपाली, महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक अनन्तराज धिताललगायतको आतिथ्यता थियो ।







