शंकर ज्योतिको नयाँ भवन उद्घाटन

साझाकुरा
२०७९ चैत्र ७, मंगलवार १२:५२

हेटौंडा- कक्षाकोठाको अभावका कारण अध्ययन÷अध्यापनमा समस्या भोग्दै आएको हेटौंडा–११ सिमलटारस्थित शंकर ज्योति आधारभूत विद्यालयले नयाँ भवन पाएको छ ।नियमित अध्यापनमा आवश्यक भवनको अभावका कारण समस्या भोग्दै आएको विद्यालयले सोमबारदेखि नवनिर्मित भवनबाट पढाउन सुरु गरेको छ । विद्यालयको २७ औं अभिभावक भेला तथा ४ कोठे नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ
(शिक्षा) ले ७० लाख रुपैयाँको लागतमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको हो ।

भवन तथा अभिभावक भेलाको उद्घाटन गर्दै नगरप्रमुख लामाले सामुदायिक विद्यालयमा शिक्षामा सुधार आवश्यक रहेको बताइन् । उनले पूर्वाधारका हिसाबले सामुदायिक विद्यालयहरु अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको भन्दै उनले सुधार आवश्यक रहेको बताएकी हुन् ।उनले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई पनि आग्रह गरिन् । विद्यालयमा लिएको शिक्षासँगै आफूले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाई थियो ।

विद्यालय गएका आफ्नो बालबालिकाको पढाईको अवस्था, साथीसंगतका कुरामा ध्यान दिन सकेमात्र आफ्ना बालबालिका अव्बल हुन सक्ने भन्दै नगरप्रमुख लामाले अभिभावक चनाखो हुन जरुरी रहेको बताइन् । उपमहानगर शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्दै शिक्षक र अभिभाबकको सकारात्मक भूमिका हुन आवश्यक रहेको लामाले औंल्याएकी छन् ।कक्षा ८ सम्मको अध्यापन हुने विद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जीर्ण हुँदै गएसँगै भवन अभावका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय विद्यार्थी रहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले बताए । उनले पुराना भावन जीर्ण हुँदै गएकाले विद्यालयका लागि थप ८ कोठाको नयाँ पक्कि भवन आवश्यक रहेको बताए ।

प्रधानाध्यापक न्यौपानेले अभिभावक भेलामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार राप्ति किनारमा रहेको विद्यालयमा गर्मी समयमा पानीको अभाव हुने भएकाले विद्यालयमा समस्या हुने उल्लेख छ । हेटौंडा–११ नम्बर वडा कार्यालयले ४ कोठे ट्रस भवन निर्माणको लागि छुट्याएको ८ लाख रुपैयाँबाट निर्माण असम्भव रहेकाले थप २० लाख रुपैयाँ आवश्यक रहेको बताइएको छ । उनले गर्मीको समयमा विद्यार्थीका लागि प्रशस्त पानी चाहिने हुँदा विद्यालयले पानीको अभाव हुन नदिनका लागि डिप बोर्रिङ गर्न आवश्यक रहेको बताए । अभिभावक भेलामा प्रधानाध्यापक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले आर्थिक बर्ष २०७७÷७८ मा १ करोड ११ लाख ३७ हजार बराबरको आयव्यव गरेको उल्लेख छ । अभिभाक भेलामा विद्यालयको पूर्वशिक्षक रामबहादुर थापालाई बिदाई गरिएको छ । उत्कृष्ट शिक्षकको रुपमा कबिता गौतम, विन्दु सिंह ठकुरी र शुसिला न्यौपानेलाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर खुलालको सभाध्यक्षतामा भएको अभिभावक भेला तथा विद्यालय भवन उदघाटन कार्यक्रममा हेटौंडा–११ का वडाअध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, उपमहानगरका शिक्षा विकास अधिकृत रमेश बिडारी, टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कमलचन्द्र सुमनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*