हेटौंडाको विकट बाँझोडाँडाका ३५ परिवारलाई सहयोग
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडास्थित विकट क्षेत्र बाँझोडाँडा (जेसीज गाउँ)मा ३५ परिवारलाई सहयोग गरिएको छ ।सामाजिक सेवामा सक्रिय हेटौंडा लेडी जेसीजले बाँझोडाँडाका ३५ परिवारलाई लामखुट्टेबाट बचाउने झुल, सेनेटरी प्याड र शौचालय सरसफाईमा प्रयोग हुने हर्पिक सहयोग गरिएको हो । मंगलबार उपमहानगरपालिकाको प्रवक्ता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा लेडी जेसीजकी अध्यक्ष दिलुमाया घर्तीको अध्यक्षतामा सहयोग हस्तान्तरण कार्यक्रम राखी स्थानीयलाई सहयोग प्रदान गरिएको हो ।
वडा कार्यालयले वडाबासीको आर्थिक आयआर्जनमा टेवा पु¥याउने कार्यक्रम ल्याइरहेको र आधारभूत आवश्यकताका विषयमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको वडाध्यक्ष न्यौपानेले बताए । लेडी जेसीजले स्न २०२१ मै बाँझोडाँडालाई जेसीज गाउँका रुपमा घोषणा गरेको थियो ।जेसीजले विकट क्षेत्रलाई जेसीज गाउँको रुपमा घोषणा गरेर आर्थिक उपार्जनदेखि आधारभूत आवश्यकताका विषयमा सहयोग गर्दै आइरहेको लेडी जेसीज हेटौंडाकी अध्यक्ष घर्तीले जानकारी दिइन् । जेसीज वर्ष २०२३ बोर्ड सल्लाहकार सिनेटर राजदेव बनियाँ र सिनेटर पवन कुमार कंसाकारले सहयोग उपलब्ध गराएको घर्तीले बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली, १ नम्बर वडाका वडा सदस्यहरु रामकृष्ण अधिकारी, सोनाम सिं ब्लोन, मनु दाहाल, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष विकेशलाल श्रेष्ठलगायतको आतिथ्यता थियो । कुशु पण्डितको संयोजकत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन महासचिव सरस्वती केसी थिङले गरेकी हुन् ।







