ट्राफिक प्रमुखमा आचार्य
हेटौंडा- मकवानपुरमा सिमेन्ट उद्योगहरुको खानी क्षेत्रबाट ओभरलोड चुनढुंगा बोकेका टिपर नियन्त्रणपछि उत्पन्न परिस्थतिका बीच जिल्लाको ट्राफिक प्रमुख हेरफेर भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निवर्तमान प्रमुख मुनेन्द्र थापाको सरुवा भएपछि हाल नयाँ ट्राफिक प्रमुख आएका छन् । थापाको सरुवा ओभरलोड बोक्ने टिपरहरुको नियन्त्रणसँग सम्बन्धित नभएपनि चुनौतीका बीच नयाँ ट्राफिक प्रमुखमा बसन्त आचार्य आएका छन् । आचार्यलाई काननुविपरित ओभलोड बोकेका टिपर नियन्त्रणमा लिएर कानुनी राज्यको आभास दिलाउनुपर्ने प्रमुख चुनौती छ ।
जिल्लामा विगतका वर्षदेखि नै ओभरलोड बोक्दै आएका टिपरहरुमाथि प्रभावकारी नियमन हुन सकेको छैन् । ओभरलोड चुनढुंगा बोक्ने टिपरहरुको नियन्त्रणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब दिँदै आइरहेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर हेटौंडाको प्रमुखका रुपमा प्रहरी निरीक्षक बसन्त आचार्यले सोमबारदेखि कार्यभार सम्हालेका छन् । २०७२ सालबाट प्रहरी निरिक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका आचार्य यसअघि अनुसन्धान ब्यूरोमा कार्यरत थिए । जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएर ट्राफिक व्यवस्थापन गर्ने आचार्यले बताएका छन् । उनले पार्किङ व्यवस्थापन, ओभरलोड, दुर्घटना न्यूनीकरणलगायतका बिषयमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक काम गर्ने बताए ।







