राक्सिराङमा घुम्ती शिविर निरन्तर
हेटौंडा-‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ राक्सिराङ गाउँपालिकाले घुम्ती शिविरलाई निरन्तरा दिएको छ ।राक्सिराङ गाउँपालिकाले सेवाको निरन्तरताको क्रममा प्रत्येक वडाबासीलाई घरमै पुगेर स्वास्थ्य उपचारदेखि तरकारीको बीउबिजसम्म वितरण गरिरहेको हो । राक्सिराङ–९ स्थित डन्टारमा शिविरको आयोजना गर्दै गाउँपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा उपलब्ध गराइएको थियो । सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यका साथ गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ । गाउँपालिकाले एकीकृत शिविरमार्फत् घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । एमबीबीएस डाक्टरसहितको स्वास्थ्यसेवा र निःशुल्क औषधि वितरण गरिएको थियो ।
स्थानीयलाई तरकारीका बीउ वितरणका साथै पशुरोगविरुद्धको औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । बिजुली बत्ति नपुगेको ठाउँमा गाउँपालिकाले सोलार प्यानल वितरण गर्दै आइरहेको छ । गाउँपालिका अध्यक्ष राजमकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गार्तौलासहित कर्मचारीको टोलीले गाउँघरमै पुगि घुम्ती शिविरमार्फत् सेवा प्रदान गरेपछि स्थानीय खुशी बनेका छन् । ज्येष्ठ नागरिक तथा अशक्त तथा हिँड्न नसक्ने बिरामीको घरघरमै पुगि स्वास्थ्य जाँच र निःशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । ‘आमाबुबा बचाउ कार्यक्रम’ सञ्चालन गरी विगतका वर्षहरुदेखि नै असक्त, अपाङ्ता भएका र ज्येष्ठ नागरिकलाई गाउँटोलमै स्वास्थ्य सेवा प्रदान गरिरहेको गाउँपालिकाले अन्य विविध सेवाहरु पनि गाउँ टोलसम्मै विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । शिविरमा ३ सय ५७ जनाको निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएकोमा ९ जना बिरामीलाई घरमै पुगी उपचार गरिएको थियो । २८ जना गर्भवतीको भिडियो एक्सरेमार्फत गर्भ जाँच
गरिएकोमा ६० जना सुत्केरी तथा गर्भवतीलाई पोषण पीठो वितरणगरिएको थियो । क्षयरोग परीक्षणको लागि १० जनाको खकार नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए ।
एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामग्रीसमेत हस्तान्तरण गरेका थिए । पशुसेवातर्फ गाई भैंसी, बाख्रा, कुखुराका औषधिहरु र कृषितर्फ ७ थरीका तरकारीका बीउहरु निःशुल्क वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कृष्ण डुम्रेले बताए । यसअघि ४ नम्बर वडामा एकीकृत शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले चैत १४ गते ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा कार्यक्रम राखेको छ भने वडा नम्बर १ र २ का लागि राक्सिराङ १ मा एकीकृत शिविरको कार्यक्रम तय गरिएको छ ।







