हेटौंडा सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन बन्द
हेटौंडा- सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग बिहीबारदेखि फेरि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने उपकरणमा समस्या देखिएपछि उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरणको मर्मत सम्हार गरेर पुनः उत्पादन कार्य सुरु गर्ने लक्ष्य रहेको प्रवक्ता कर्णले बताए ।केहीसमय अघि कोइलाको अभावमा उद्योगको उत्पादन ठप्प भएको थियो । गुणस्तरहीन कोइला आपूर्ति गर्न लागेको भन्दै उद्योगका शुभचिन्तकहरुले अबरुद्ध गरेपछि कोइला आपूर्ति ठप्प भएको थियो । कर्णका अनुसार, उद्योग व्यवस्थापनले बोलपत्र आव्हानमार्फत बिदेशबाट गुणस्तरीय कोइला ल्याउने कार्य भइरहेको छ ।
सरकारी स्वामित्वको उद्योग बन्द गराएर निजी क्षेत्रका सिमेन्ट उद्योगले बजारमूल्यमा मनोपली गर्न पाउने भएका कारण बारम्बार हेटौंडा सिमेन्ट उद्योगमा आक्रमण हुने गरेको उद्योगसम्बद्ध स्रोत बताउँछ । अहिले हेटौंडा सिमेन्ट उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्ने कार्यलाई तीब्रता दिइएको छ । प्याकिङ गरेको सिमेन्ट हेटौंडा, काठमाडौं, पोखरा, भैरवा, विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गरिरहेको उद्योगका प्रवक्ता कर्णले बताए । केही स्टकमा रहेको सिमेन्ट बिक्री गर्ने बाहेक हाल उत्पादनको कार्य ठप्प भएको हो । उद्योगको उत्पादन गुणस्तरी भएकै कारण बजार माग धान्न मुस्किल पर्दै आएको छ । उपभोक्ताले पाएसम्म हेटौंडा सिमेन्ट नै प्रयोगर्न
खोजिरहेका हुन्छन् तर, बजारमा हेटौंडा सिमेन्ट जहिले पपनि अभाव हुने गरेको छ ।
उद्योगमा दैनिक १ सय १० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १२ देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो ।







