हेटौंडामा सिंहदरबार घेर्न हिँडेका मिटरब्याज पीडितको प्रदर्शन

साझाकुरा
२०७९ चैत्र १०, शुक्रबार ११:४६

हेटौंडा- झापासहित, सप्तरी, सिरहा, सर्लाही, बारालगायतका जिल्लाका मिटरब्याज पीडितले हेटौंडामा प्रदर्शन गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउने भन्दै काठमाडौं पुगेर ‘सिंहदरबार घेर्ने’ दाबी गरिरहेका मिटरब्याज पीडितहरुले बिहीवार हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् । मिटरब्याजी तमसुक व्यवस्था खारेजीको मागसहित साहुबाट नलिएको ऋणबाट ‘मुक्ति’ पाउन भन्दै आधा दर्जन जिल्लाका महिलादेखि पुरुषहरु पैदलयात्रामा छन् । महोत्तरीको बर्दिबासबाट २ चैतमा पैदलयात्रा सुरु गरेका मिटरब्याज पीडितहरु बुधवार साँझ हेटौंडा आएर बास बसेका थिए । पीडितहरु हेटौंडाको गोरक्षश्वर मन्दिरमा भूमि आयोग जिल्ला समिति अध्यक्ष विष्णु दाहालको व्यवस्थापनमा बास बसेका थिए । खान, बस्न व्यवस्थापन मिलाएर सहयोग गरेका दाहालकै उपस्थितिमा पीडितहरुले हेटौंडामा प्रदर्शन गरेका हुन् ।
गोरक्षश्वरबाट निस्किएको पीडितहरुको ¥याली राप्तिरोड हुँदै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । उनीहरुले हेटौंडामा प्रदर्शन पश्चात काठमाडौंसम्मको पैदल यात्रामा निस्किएका छन् ।

प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएको मिटरब्याज पीडितहरुले बताए । मिटरब्याज पीडितले विगतमा जस्तै यसपटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेको तर, सरकारले वेवास्ता गरेको भन्दै सिंहदरबार घेर्न काठमाडौं हिँडेको उनीहरुले बताए । मिटरब्याज पीडितहरुले स्थानीय सरकारलाई हारगुहार गरेपनि कुनै चासो नदिएकोले प्रधानमन्त्री भेट्न हिँडेको पीडितमध्येका एक धनुषा सबैलाकी कल्पना धामीले पीडा सुनाइन् ।धामी कोखमा ६ महिने दूधेबच्चा बोकेर काठमाडौंसम्मको पैदल यात्रामा हेटौंडा आइपुगेकी हुन् । धामी जस्तै , ५० जना महिला पैदल यात्रामा सहभागी छन् । ७२ जनाको टोलीमा बाँकी पुरुषहरु पनि छन् । महिलाहरुको खानपिन र सुरक्षाको प्रबन्ध पुरुष टोलीले हेरिरहेको पीडितमध्येकै एक महमद मुस्किलले बताए । सप्तरी, ढाकनेश्वरी नगरपालिका–९ की ललितादेवी साहले साझाकुरासँग मिटरब्याजले बिचल्ली बनाएको बताइन् । मिटरब्याजका कारण श्रीमानले समेत आफूलाई छाडेको साहको गुनासो छ ।

श्रीमानले विदेशबाट कमाएर ९ धुरमा बनाएको ६ कोठे घर यतिबेला मिटरब्याजीको कब्जामा रहेको उनले बताइन् । आफ्नै घरमा कोठामा बस्ने मिटरब्याज लगाउने महिला पुनम साहले घरमा कब्जा जमाएको उनको भनाई छ । घर बनाउन लिएको पैसा तिरिसक्दा पनि पीडकले धम्क्याउँदै थप कागज बनाएर पैसा असुल गरिरहेपछि श्रीमानले छोडेको उनको भनाई छ ।जिन्दगीभरको पसिना सुदखोरले कब्जा गरिदिएपछि न्याय खोज्न काठमाडौं हिँडेको सिराहाकी पुनितादेवी महतोले बताइन् । पुनितादेवीले आफूलाई एक वर्षदेखि प्रहरी प्रशासनले पनि लखेटिरहेको गुनासो गरिन् । वैदेशिक रोजगारीमा गएका श्रीमानको १२ वर्षअघि मृत्यु भएपछि छोराहरुलाई हुर्काउन, पढाउन गोलबजारकै शारदादेवी साहबाट ५५ हजार रुपैयाँ ऋण लिएकी उनले ऋण भन्दा बढी पैसा तिरिसकिन् । तर, पीडकले अझै पैसा असुल गरिरहेको उनको भनाई छ । ५० हजारका लागि हप्ताको ११ हजार रुपैयाँ ब्याज तिर्दा पनि घरखेत नै खाएको उनको भनाइ छ ।

मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले आयोजना गरेको बर्दिबास–काठमाडौं मार्चमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका ७२ किसान सहभागी भएका हुन् । बर्दिबासबाट हिँडेको पहिलो दिन उनीहरु गौशाला रोडमा बसेका थिए । दोस्रो दिन लालबन्दी, तेस्रो दिन बागमती, चौथो दिन चन्द्रनिगाहापुर पुगेका उनीहरु पाँचौं दिन निजगढ, छैटौं दिन पथलैयामा बास बसेका थिए । बुधबार हेटौंडामा सुस्ताएका उनीहरु दैनिक औसत २५ किलोमिटर हिँडेर अब ४ दिनमा काठमाडौं पुग्ने लक्ष्य लिएको पीडित सिराहा लहानका श्याम विश्वकर्मा बताउँछन् । संघर्ष समिति संयोजक मनोजकुमार पासवान मधेश प्रदेश र प्रमुख जिल्ला अधिकारीहरुले बेवास्ता गरेपछि काठमाडौं हिँडेको बताए ।

पासवानले सिंहदरबार घेर्ने चेतावनी दिए । न्याय नपाएसम्म काठमाडौंमै संघर्ष गर्ने उनको भनाई छ । ‘काठमाडौंबाट न्याय नपाएसम्म गाउँ फर्किदैनौं । सिंहदरबार घेर्न पनि छोड्दैनौं । गाउँका सरकारले वास्ता नगरेपछि प्रधानमन्त्रीलाई भेटेरै न्याय माग्ने हाम्रो योजना छ,’ पासवानले सुनाए । मधेशका मुख्यमन्त्री सरोज यादवलाई स्मरणपत्र बुझाए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । मिटरब्याजीलाई कारबाही, पीडितको जफत गरिएको सम्पत्ति फिर्ता, मिटरब्याजीको सम्पत्ति छानबीन, सहुलियत दरमा ऋणको व्यवस्था, मिटरब्याजीबाट पीडितमाथि गरिएको यौनशोषणको छानबीन र दोषीलाई कारबाही, तमसुक व्यवस्था खारेजलगायतका माग पूरा हुनुपर्ने उनीहरुको अडान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*