निकुञ्जले घर भत्काएको घटना बुझ्न मनहरी पुगे सांसद बर्तौला
हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको सुनाचुरीमा चितवन राष्ट्रिय निकुञ्जले घर भत्काएपछि अवस्था बुझ्न सांसद महेश बर्तौला पुगेका छन् ।
मनहरी–६, सुनाचुरीस्थित लोथर खोलाको नदी उकास जमिनमा निर्माणाधीन ९ घर निकुञ्जले भत्काएपछि सांसद बर्तौला शुक्रबार लोथर पुगेका हुन् । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको नेपाली सेनाको टोलीले ७ चैत मध्यरातमा आएर घर भत्काएको थियो । अहिले ९ परिवारको बिचल्ली भएको छ । लोथर र मनहरीमा भाडामा बसेर जीविका चलाउँदै आएका ९ जनाको परिवारले निर्माणाधीन घरमा बस्न नपाई क्षति व्यहोर्नु परेको थियो । नेकपा एमालेका सचेतक तथा मकवानपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद बर्तौला पुगेपछि निकुञ्जले डोजर लगाएर घर भत्काएको पीडित स्थानीयले दुःखेसो पोखेका छन् ।
२०४९ सालकी वडाअध्यक्ष सरिता बिकका अनुसार उक्त स्थानमा २०४० सालमा तत्कालीन सांसद रुपचन्द्र विष्टको पहलमा १४ घरधुरीलाई स्थानान्तरण गरिएको थियो । उक्त १४ घरधुरी अहिले सन्तान बढेर २२ धुरी पुगेको जनाइएको छ । पूर्ववडाअध्यक्ष गोपी मुक्तानले भूमिहीन सुकुम्बासीका नाममा नापी भई भूमि आयोगले कित्ताकाट गरिसकेर लालपुर्जा वितरणको तयारी भइरहेको अवस्थामा निकुञ्जले डोजर लगाएर घर भत्काएको बताएका छन् । जग्गा उनीहरुकै नाममा भएकोले घरटहरा बनाउन पाउनुपर्ने पीडितहरुको तर्क छ ।
सांसद बर्तौलाले फिल्डबाट राष्ट्रिय निकुञ्जको वार्डेन बलभद्र आचार्यलाई फोन गर्दै निकुञ्जले किन आधा रातमा टहरामा डोजर लगाउन पर्ने अवस्था आयो भनेर सोधपुछ
गरेका थिए । वार्डेन आचार्यले आफूले नियमानुसार टहरा भत्काएर सरकारी जग्गाको संरक्षण गरेको बताएका छन् । आफूले कतै नियम मिचेको भए कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत वार्डेनले चेतावनी दिए । भूमिहीनसँग साँसद बर्तौलाले आफू संधै जनताको पक्षमा काम गर्ने र आफूले यस समस्या सदनबाटै लड्ने बताए ।
२०२५ सालमा तत्कालीन सरकारले नापी गरेको लोथरको नदी उकास जमिनमा काजिमान सुनार, वीरबहादुर सुनार, भीमबहादुर सुनार, सावित्री सुनार, विभकुमारी सुनार, कमला थोकर, सरिता विक, बमबहादुर सुनारको घर निकुञ्जले भत्काएको पीडित स्थानीय गोपी विकले जानकारी दिए । पीडित विकका अनुसार लोथर खोलाको नदी उकास जमिनमा १३ विघा क्षेत्रफलमा २२ जनाको नाममा ०२५ सालमै नापी भएको थियो । मालपोत कार्यालय मकवानपुरबाट फिल्डबुकसमेत उतारिएको उक्त जग्गामा निकुञ्जले दादागिरी शैलीमा घर भत्काएको भन्दै पीडितहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।
तत्कालीन भूमि आयोगबाट जग्गा नापी भएपनि उनीहरुसँग लालपूर्जा भने छैन । लालपूर्जा लिने तयारीमा रहेका पीडितले घर बनाइनसक्दै निकुञ्जले भत्काएको हो । पीडितको घरनजिकै होटलदेखि पेट्रोल पम्पसँग सञ्चालनमा छन् । होटल, पेट्रोल पम्प भएको जग्गासमेत निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्न आउँछ । तर, निकुञ्जले भने होटल र पेट्रोल पम्पलाई निर्वाध छोडेको र ९ जनाको भर्खर बन्न लागेको घर भत्काएको पीडितको गुनासो छ । पीडितले तीन महिना अघिदेखि घर बनाउन सुरु गरेका थिए ।







