बालश्रमिक नराख्ने हेटौंडाका व्यवसायीको प्रतिवद्धता
हेटौंडा-हेटौंडाका होटल व्यवसायी तथा निर्माण व्यवसायीले बालबालिकालाई बालश्रममा नलागाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।बालमैत्री स्थानीय तह घोषणाको लागि पुरा हुनुपर्ने सूचकमा पुग्न र बालबालिकाको संरक्षण आफूहरुको समेत दायित्व भएको भन्दै रोजगारदाताले बालश्रम न्यूनीकरणको लागि ऐक्यवद्धता जनाएका हुन् । स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने पूर्वतयारीस्वरुप हेटौंडामा श्रममा रहेका बालबालिकाको सहभागिता सम्बन्धी वकालत बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । कार्यक्रममा श्रम कार्यालय हेटौंडाका भीमप्रसाद शर्माले बालबालिकालाई श्रममा लगाएको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिए ।
राष्ट्रिय बालसंरक्षण सन्जाल, आस्मान नेपाल र बालकल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा भएको बहस कार्यक्रमका सहभागीहरुले बालबालिकासम्बन्धी ऐन, नियमावली तथा नेपालको दीगो विकास योजना अनुसार कार्य अगाडि बढाउन सबै क्षेत्रसँग सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । बालमैत्री घोषणा भएका स्थानीय तहमा झन् धेरै काम बाँकी रहेको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बताए । सरोकारवाला समूहमा श्रमिक बालबालिकालाई सहभागी गराउने, उनीहरुको आवश्यकता, चाहना र भावनाको सम्बोधन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नगरस्तरीय बालसञ्जालका अध्यक्ष सौरभ देवकोटाले बालबालिका लुकेर बालश्रममा लाग्ने गरेको बताएका छन् । क्लबले सचेतना कार्यक्रम गर्दा गर्दै पनि अभिभावकहरुसँगै श्रममा लाग्ने गरेको अध्यक्ष देवकोटाले बताए । अभिभावकमा सचेतना नभएको कारण बालबालिका चाहेरभन्दा पनि नबुझेर श्रममा रहेको सञ्जालको सदस्य सुदीक्ष बर्तौलाले बताइन् । कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, शिक्षक, होटल सन्चालक, जिल्ला समन्वय समिति, ट्रेड युनियनका प्रतिनिधि, बाल क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा आस्मान नेपालकी गंगा सुबेदीले बालश्रमिकको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।







