मातृभूमिद्वारा आठ स्रष्टा सम्मानित

साझाकुरा
२०७९ चैत्र १२, आईतवार १२:२७

हेटौंडा-मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा भएको कार्यक्रममा ८ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरिएको छ । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । समाजले विभिन्न विधामा हरेकवर्ष यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ । शनिबार नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझीलाई नगद २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो भने मायादेवी मातृभूमि साहित्य पुरस्कारबाट काठमाडौंकी साहित्यकार सीता विष्टलाई नगद
२१ हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि सम्मानबाट मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन अधिकारीलाई नगद १५ हजार सहित सम्मान प्रदान गरिएको छ भने राजकुमार बानियाँ स्मृति मातृभूमि सम्मानबाट रौतहटका साहित्यकार हरिकृष्ण काफ्लेलाई नगद १५ हजार सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा हातेमालो मातृभूमि सृजनशील युवा सम्मानबाट हेटौंडाका राष्ट्रिय गायक सुजिल कर्माचार्यलाई नगद १० हजार सहित सम्मान प्रदान गरिएको छ । मायादेवी मातृभूमि सहित्य सम्मानबाट यसवर्ष बारा कलैयाकी साहित्यकार अप्सरा पुडासैनीलाई १० हजार नगद सहित सम्मान गरिएको छ भने मञ्जु सुवेदी मातृभूमि सम्मानबाट मकवानपुरकी पत्रकार सम्झना कार्की (नानीमैयाँ) लाई १० हजार नगद सहित सम्मान प्रदान गरिएको छ । त्यस्तै, मङ्लादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मानबाट हेटौंडाका बाल गायक चिराग डंगोललाई नगद ७ हजार पाँच सय सहित सम्मान गरिएको थियो ।

सम्मान तथा पुरस्कार कार्यक्रमसँगै समाजले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको थियो । सोही अवसरमा विभिन्न स्रष्टाहरुले आफ्नो रचनावाचन गरेका थिए । कार्यक्रममा समाजका संरक्षक ह्यग्रीव आचार्य, सल्लाहकार देवराज खरेल लगायत मकवानपुरमा रहेका विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*